अपुरो कामको उद्घाटनमा ओली व्यस्त, बेड नपाएर जनताले दुःख पाएः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका बेला जनताको जीवन बचाउन अपील गर्दै सचेतना अभियान चलाउन अनुरोध गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा शुक्रबार पत्रकार सम्मेलन गरेर सभापति देउवाले स्वास्थ्यका मापदण्ड अपनाउन अपील गरेका हुन् । उनले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउँदा पनि कोरोनाबाट बच्न सकिने बताए ।

देउवाले पीसीआर परीक्षण बढाउन र संक्रमितहरूको उपचारका लागि आईसीयू–भेन्टिलेटरसहित बेड व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनले सरकारको लापरवाही र अकर्मण्यताका कारण आईसीयू, भेन्टिलेटर बेडहरूको अभाव हुन थालेको बताए ।

सरकारले विगतको गल्तीबाट नसिकेको र सरोकारावालाहरूले दिएको सुझावलाई समेत आत्मसात नगरेको देउवाले आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तकडभडमा मग्न ओली सरकारले संक्रमण रोक्न कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ ।’

परीक्षण नगरी उपत्यका छाड्न दिँदा लाखौं मानिस जिल्ला जिल्ला पुगेको र यसले संक्रमण व्यापक बन्नसक्ने भन्दै उनले निषेधाज्ञाको सदुपयोग गर्न माग गरेका छन् ।

सभापति देउवाले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर कांग्रेसका नेता कार्यकर्ताहरूलाई टोल, गाउँ, जिल्लाहरूमा कोरोनाविरुद्धको सचतेना अभियान चलाउन निर्देशन दिए । उनले सरकारले कोरोना संक्रिमतको उचार र कोरोना रोकथाममा काम गर्न नसकेको भन्दै चिन्ता जनाएका छन् ।

गाउँका धेरै जनतालाई स्वास्थ्यसम्बन्धी जानकारी नरहेको बताएका देउवाले भने, ‘कोरोनाका बारेमा गाउँका जनतालाई जानकारी गराउनुपर्छ । उहाँहरूलाई धेरै कुराको जानकारी छैन ।’

उनले कोरोनाका बेला जनताको सहयोगमा जुट्न पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । ‘सचेतना अभियान चलाउनुस् । आफू सुरक्षित रहेर अभियान चलाउनु होला’, देउवाले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर अभियान चलाउने हो । गाउँ–ठाउँमा धेरैलाई कोरोना र कोरोनाबाट बच्ने उपायबारेमा थाहा पनि छैन ।’

‘सचतेना अभियान चलाउँदा पनि धेरैको जीवन बच्न सक्छ’, देउवाले भने, ‘औषधिहरू आइसकेको छैन । पीसीआर टेस्ट गर्न प्रोत्साहित गराउनुपर्छ ।’ उनले विमानस्थलहरू खुला रहेको विषयमा स्वास्थ्यसम्बन्धी हेल्थडेस्कहरू स्थापना गरेर जानुपर्ने बताए ।

सरकारले कोरोनाको जोखिमबाट बच्न गर्नुपर्ने उपाय र तयारीहरू गर्न नसकेको भन्दै देउवाले असन्तुष्टि जनाए । उनले कोरोनाका बिरामीहरूको उपचार गर्न अनुरोध गरे ।

सभापति देउवाले स्वास्थ्यमा जनशक्तिको कमी देखिएको भन्दै जनशक्ति पूर्ति गर्न सुझाव दिएका छन् । उनले स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता छिटो दिन पनि आग्रह गरेका छन् । उनले संक्रमित र विदेश बाहिरबाट आउनेलाई क्वारेन्टिनमा बस्नेत व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।

सभापति देउवाले निषेधाज्ञाबाट समस्यामा परेका वर्गका विषयमा ध्यान दिएर उचित व्यवस्था गर्न पनि सुझाव दिएका छन् । उनले कोरोना र निषेधाज्ञाबाट कोही पनि भोकै मर्ने अवस्था सिर्जना नहोस् भनेर सरकारलाई सचेत गराएका छन् ।

सरकारले कोरोना महामारी तीब्र रुपमा बढेपछि काठमाडौं उपत्यकासहित २० जिल्लामा निषेधाज्ञा लागू गरेको दोस्रो दिन पत्रकार सम्मेलन गरेर देउवाले निषेधाज्ञा मात्रै लगाउनेभन्दा पनि उपचारको तयारी, व्यवस्थापन र प्रभावित जनतालाई राहतको माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिका संयोजक एवम् सह–महामन्त्री डा.प्रकाशशरण महतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2021 April 30, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया