‘गण्डकी काण्ड’बारे जनमोर्चाको यस्तो आयो आधिकारिक धारणा, भीआईपीहरूका कुर्सी फुत्किने भयो !

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावको मतदानका क्रममा भएको घटनाले आश्चर्य व्यक्त गर्दै दुःख लागेको जनाएको छ ।

जनमोर्चाकी उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले बिहीबार बिहान विज्ञप्ति जारी गरेर मतदानका क्रममा भएको अस्वभाविक प्रकारका घटनाहरूले गम्भीर बनेको जनाएकी छिन् । पौडेलले अविश्वासको प्रस्तावको पक्षमा रहेको जनाएकी छिन् ।

‘गण्डकी प्रदेशको सरकारका विरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने हाम्रो पार्टीको प्रष्ट र दृढ नीति छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर मतदानको दौरानमा जुन अस्वभाविक प्रकारका घटनाहरु घटे, त्यसप्रति हामीलाई आश्चर्य र दुःख लागेको छ ।’

‘राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको मतदानको बेलामा भएको अनुपस्थिति रहस्यमय भएको छ’, प्रवक्ता पौडेलले भनेकी छिन्, ‘पछि बुझ्दा उहाँलाई पोखराको एउटा अस्पतालमा भर्ना गरिएको र कसैलाई भेट्न पनि नदिइएको कुरा थाहा भएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशका सांसदहरूको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? त्यो कुरा बुझ्न हामी असमर्थ छौं ।’

‘अहिले अस्पतालमा कसैलाई पनि उहाँसित भेट गर्न दिइएको छैन । राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरू जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन’, प्रवक्ता पौडेलले भनेकी छिन् ।

‘उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ? उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं’, जनमोर्चाले प्रश्न गरेको छ ।

‘गण्डकी प्रदेशको संसदमा खिमविक्रम शाही रहस्यपूर्ण तरिकाले अनुपस्थित भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले उहाँको स्थिति अज्ञात भएकोले उहाँबारे जानकारी गराउन तथा उहाँ उपस्थित नहुँदासम्म संसदमा मतदानलाई स्थगित गर्नका लागि सभामुखकहाँ निवेदन दिनुभएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसका आधारमा गण्डकी प्रदेशको संसदलार्ई सभामुखले अनिश्चितकालको लागि स्थगित गरेको जानकारी प्राप्त भएको छ ।’

‘गण्डकी प्रदेशको संसदको गतिविधिलाई हामीले अस्वभाविक रुपमा लिएका छौं’, प्रवक्ता पौडेलले भनेकी छिन्, ‘संसदको कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं ।’ उनले खिमविक्रम शाहीको स्थितिबारे थप सूचना प्राप्त भएपछि जानकारी दिने बताएकी छिन् ।

गण्डकी प्रदेशमा भएको संसदको गतिविधिलाई लिएर कैयौं प्रश्नहरू उठिरहेका र टिकाटिप्पणी भइरहेकोमा जनमोर्चाले चिन्ता जनाएको छ ।

जनमोर्चाको यो अभिव्यक्तिले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद असुरक्षित भएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको एमालेलाई तनाब बढाइदिएको छ । गुरुङ मुख्यमन्त्री पद फुत्किने भएपछि चिन्तित भएको एमालेकै एक नेताले बताएका छन् ।

Published : Thursday, 2021 April 29, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया