लाप्राकका भूकम्पपीडितले पाए घर, अध्यक्ष गुरुङद्वारा खुसी व्यक्त

गोरखा । गोरखा जिल्लामा रहेको सबैभन्दा ठूलो एकीकृत बस्तीका लाभग्राहीलाई जग्गाधनी पुर्जासहित तयार भएको घर हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गोरखाका धार्चे गाउँपालिकास्थित लाप्राक एकीकृत बस्तीमा आयोजित कार्यक्रममा संयुक्त रुपमा घर हस्तान्तरण गरेका हुन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले भूकम्प प्रभावित दाजुभाइलाई सहयोग गर्न पाउँदा संघआबद्ध सम्पूर्ण नेपालीलाई खुशी मिलेको बताए । उनले लाप्राक एकीकृत बस्तीका जनताको जीवनस्तरमाथि उठाउन संघले भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

धार्चे गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले लाप्राकको एकीकृत बस्तीबाट भूकम्पबाट पीडित बनेका जनतालाई सहयोग मिलेको भन्दै खुसी व्यक्त गरेका छन् । अध्यक्ष गुरुङले एकीकृत बस्तीलाई पर्यटनका लागि विस्तार गरेर स्वरोजगारको कार्यक्रम अगाडि बढाइनुपर्ने बताए ।

त्यसका लागि सहयोग गर्न सरकार र सरोकारवाला निकायसँग गुरुङले अनुरोध गरेका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङले जनता सक्षम हुँदा देशनै सक्षम हुने बताए ।

प्राधिकरणका कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्मा, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) गोरखाका आयोजना प्रमुख रामशरण आचार्य, गैरआवासीय संघका उपाध्यक्ष सोनाम लामालगायतको उपस्थिति थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा गोरखाको धार्चे गाउँपालिकाको गुप्सीपाखामा ५७३ घरसहितको एकीकृत बस्ती तयार भएको हो ।

प्राधिकरणले जग्गा उपलब्ध गराउने तथा पूर्वाधार निर्माणमा सहयोग गरेको हो भने गैरआवासीय नेपाली संघले घर निर्माणमा सहयोग गरेको छ ।

Published : Thursday, 2021 April 22, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया