ओलीका चेलालाई साथ दिने सांसदहरुलाई कारबाही, पोखरेलले पद गुमाउने, ओली र पोखरेलको पराजय निश्चित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशले मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सपथ खाएका चार जनालाई स्पष्टीकरण सोध्दै पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको छ ।

जसपाले पार्टीको निर्णयविपरीत मन्त्री पदको सपथ लिएको भन्दै चारै जनालाई सरकारबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएको हो ।

जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार साँझ विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र राजीनामा गरी स्पष्टीकरण बुझाउन भनेका छन् ।

चित्तबुझ्दो जवाफ नदिएसम्म उनीहरूलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरिएको यादवले जनाएका छन् ।

सोमबार नै कांग्रेस, जसपा र माओवादीसहितका ४१ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन जसपाका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मन्त्रीको सपथ लिएका थिए ।

अयक्ष यादवले राजीनामा नदिएमा पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि उल्लेख गरेका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा पार्टीका सांसदहरू सहभागी हुनु अनैतिक काम भएको बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको विरूद्धमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जना सांसदले आजै मन्त्रीको सपथ लिएका छन् ।

Published : Tuesday, 2021 April 20, 12:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया