चार सांसद सम्हाल्न नसक्ने एमाले लुटेरा र मगन्तेको पार्टी, कांग्रेसले ठीक पार्छः कांग्रेस नेता पुरी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलको विदेश विभागका पूर्व उप–प्रमुख ऋषि पुरीले एमालेभन्ने पार्टीलाई विघटन गर्न सुझाव दिएका छन् ।

नेता पुरीले जनतालाई सधैँ झुठ बोलेर सत्तामा पुगेको एमाले र त्यस पार्टीका नेताहरू स्वार्थमा केन्द्रित रहेको भन्दै एमालेलाई विघटनका लागि सुझाव दिएका हुन् ।

‘यो एमाले भन्ने पार्टीलाई जनताले बुझेका छन् । झुठको कुरा गरेर बहुमतमा ल्याएर सत्तामा जाने, आफै झगडा गरेर असंवैधानिक क्रियाकलाप गर्छन्’, शनिबार रिपब्लिका दैनिकसँग कुरा गर्दै उनले भने, ‘कर्णाली प्रदेश सरकार ढाल्ने एमालेको असफल प्रयासपछि यो एमाले भन्ने पार्टीको कुनै काम छैन ।’

एमालेकै प्रदेश सांसदहरूले पार्टी नेतृत्वको निरंकुशता र अधिनायकवादविरुद्ध विद्रोह गरेर कम्युनिस्टको चरित्र कस्तो रहेछ भनेर नाङ्गे झार बनाएको तरुण नेता पुरीले बताए । कर्णाली प्रदेशका आफ्नै चार सांसदलाई सम्हाल्न नसक्ने खड्गप्रसाद ओली राजनीतिक रुपमा निकै कमजोर भएको पुरीले बताएका छन् ।

कांग्रेस नेता पुरीले आउँदै गरेको निर्वाचनबाट एमालेलाई जनताले दण्ड दिएर समाप्त पार्नुपर्ने बताए । ‘विश्वबाट लोप भएको कम्युनिस्टलाई नेपालमा जनताले माया दिएका छन् । जनताले दिएको मायालाई कम्युनिस्टले दुरुपयोग गरेका छन् । एमाले भनेको ढाडे बिरालो हो । यसले मुसा मार्न सक्दैन । यसको काम छैन’, उनले भने, ‘झुठभन्दा अरु केही बोल्न नजान्ने कम्युनिस्टलाई लखेट्नुभन्दा अर्को बिकल्प छैन ।’

प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले वाम गठबन्धनका नाममा जनतालाई झुक्काएर झण्डै दुईतिहाइको बहुमत ल्याएर मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको पुरीले बताए । ओली र प्रचण्डले जनतालाई निर्वाचनका बेला ढाँटेका रहेछन् भन्ने कुरा अहिले आएर प्रष्ट भएको उनले बताए ।

एमाले र माओवादीका नेताहरूलाई गाउँमा भोट माग्न आए भने लखेट्न कांग्रेसका युवा नेता पुरीले अनुरोध गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरूको एकएक गतिविधिलाई नियाली रहेको भन्दै उपयुक्त समयमा उचित कमद उठाउने नेता पुरीले बताएका छन् ।

‘कांग्रेस भनेको कम्युनिस्टले जस्तो झुठ बोल्दै हिँड्ने पार्टी होइन । कांग्रेस जनताको सेवक हो । हामी जनताका सेवक हौँ’, उनले भने, ‘कांग्रेसले समयमा सहि निर्णय लिन्छ ।’

एमाले र माओवादी जस्ता कम्युनिस्ट पार्टीका नेताहरू लुटपाट र मगन्तेहरूको पार्टी भएको भन्दै तरुण नेता पुरीले लुटेराहरूलाई देशभरिका तरुणले ठेगान लगाउने चेतावनी पनि दिएका छन् ।

Published : Saturday, 2021 April 17, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया