गृहजिल्ला झापामै ओलीलाई ठूलो धक्का

बिर्तामोड । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्ला झापामै एमालेको समानान्तर कमिटी गठन गरेका छन् ।

माधव नेपाल समूहले शुक्रबार झापाको बिर्तामोडमा कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको हो ।

समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा नीलमणि बराल, सह–सचिवमा मणि भण्डारीलाई चयन गरिएको छ ।

यसैबीच, वरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।

उनले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न सत्यतथ्य र विधिमा आधारित राजनीतिक प्रशिक्षण दिन जरुरी भएको धारणा व्यक्त गरेका छन् ।

नेता नेपालले अध्यक्ष ओलीले निष्काशन गरेका र नसमेटेकालाई बटुलेर आफूले ७७ वटै जिल्लामा कमिटी बनाउन बाध्य भएको जिकिर गरेका छन ।

ओलीले आफ्नै गृहजिल्ला झापामा एमालेको समानान्तर कमिटी गठन रोक्न सकेका छैनन् । ओलीलाई माधव नेपाल समूहले कडा चुनौती दिँदै समानान्तर कमिटी गठन गरेर आफ्नो शक्ति देखाएको छ ।

Published : Saturday, 2021 April 17, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया