कम्युनिस्ट सरकार निकम्मा भएपछि नेविसंघले गुण्डाहरूलाई आफै कारबाही गर्ने, नेताहरूमाथि हमला

काठमाडौं । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीमाथि भएको सांघातिक हमलाको निन्दा र भर्त्सना गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको विरोध गर्दै दोषीलाई अविलम्ब पक्राउ गरि कानूनअनुसार हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

‘शान्तिपूर्ण विचार प्रकट गर्ने र ज्ञानको अनुसन्धान गर्ने चेतनाको केन्द्र शैक्षिक स्थलहरूमा कहिँ पनि कोहिबाट हुने हिंसात्मक बल प्रयोग कहिल्यै पनि क्षम्य हुन्न र हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ ।

‘यस्तो प्रवृत्ति देशको जुनसुकै कुनामा आफ्ना निकटबाट होस् या अन्यबाट नेपाली कांग्रेस नितिगत रुपले नै त्यसका विरुद्ध सदैव उभिन्छ’, शर्माले भनेका छन् ।

‘शुक्रबारको घटनामा घाइते भएका विद्यार्थी नेताहरू दीपेश बानियाँ र खेमराज उपाध्यायको स्थानीय अस्पतालमा उपचार भइ रहेकोे छ’, विज्ञप्तिमा भनिएको छ ।

‘सोनाम लामा र हिमाल आचार्य लगायतका बिद्यार्थी पनि घाइते भएका छन्’, शर्माले भने, ‘दोषीलाई पक्राउ गर्ने कार्य अझैसम्म भएको छैन ।’

‘नेपाली कांग्रेस घटनाका दोषीहरुलाई अविलम्ब गिरफ्तार गरेर कार्वाही गर्न सरकार समक्ष माग गर्दछ’, प्रवक्ता शर्माले भनेका छन् ।

उता, नेविसंघका अध्यक्ष राजिव ढुंगानाले पनि विज्ञप्ति जारी गरेर भनेका छन्, ‘कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको रामपुर कृषि क्याम्पस, चितवनमा विद्यार्थी नेताहरूमाथि भएको सांघातिक आक्रमणको घटनाको हमी स्तब्ध र आक्रोशित भएका छौँ ।’

‘विद्याको पवित्र मन्दिरमा भएको यस्तो आपराधिक घटनाको हामी घोर निन्दा र भर्त्सना गर्दछौँ’, ढुंगानाले भनेका छन् ।

‘नेविसंघका नेताहरू दीपेश बानियाँ, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यलाई हतियारसहित आएको आपराधिक जत्थाले निर्घात आक्रमण गर्दा पनि प्रशासनले अझसम्म अपराधीहरूलाई पक्राउ गरि कारवाही नगर्नु खेदजनक छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘गृह प्रशासनलाई तत्काल ती हतियारसहितको आक्रमणमा संलग्न सबैलाई गिरफ्तार गरि हदैसम्मको कारवाही गर्न खबरदारी गर्न चाहन्छौँ’, नेविसंघका अध्यक्ष ढुंगानाले भनेका छन् ।

‘विश्वविद्यालयलाई वैचारिक राजनीति गर्ने थलो बनाउनुको सट्टा भौतिक आक्रमण गर्ने रणभूमि बनाउने दुुष्प्रयास कुनै पनि पक्षबाट नहोस्’, ढुंगानाले भनेका छन् ।

‘डर र त्रासको वातावरण श्रृजना गरि राजनैतिक आधार खडा गर्ने सपना कसैले देखेको भए त्यसको गमभीर दुष्परिणाम भोग्ने चेतावनी समेत दिन चाहन्छौँ’, नेविसंघका अध्यक्ष ढुंगानाले चेतावनीशैलमा भनेका छन्, ‘गृहप्रशासनले तत्काल गुण्डागर्दीमा संलग्नलाई पक्राउ गरि कारवाही गरोस्, अन्यथा विद्यार्थी आफैले कारवाही गर्न बाध्य हुनेछ ।’

नेविसंघले कम्युनिस्ट सरकार र त्यसका गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा बनाउन नसकेको भन्दै दोषीलाई संरक्षण गरेको आरोप लगाएको छ ।

Published : Friday, 2021 April 16, 11:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया