कांग्रेसले गुरुङलाई पानीमुनि गएपनि नछाड्ने, एमालेले सबै सुतेका बेला के गर्‍यो यस्तो ?

पोखरा । मुख्यमन्त्री पद जोगाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेको प्रयास असफल भएको छ ।

आफूविरुद्ध नेपाली कांग्रेससहितका दलहरू मिलेर अविश्वासको प्रस्ताव ल्याउन लागेको चाल पाएपछि गुरुङले सबै सुतेका बेला बुधबार मध्यराति प्रदेश सभा अन्त्य गर्न सिफारिस गरेका थिए । गुरुङको सिफारिसअनुसार बिहीबारदेखि गण्डकी प्रदेशको प्रदेश सभा अन्त्य भएको छ ।

गण्डकी प्रदेश सभा बैठक अन्त्य गरिए पनि गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का सांसदहरूले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

प्रदेश सभा सचिवालयमा बिहीबार दिउँसो १ बजे १० मिनेटमा अविश्वास प्रस्ताव दर्ता गरिएको कांग्रेसका नेता कुमार खड्काले जानकारी दिएका छन् ।

२८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएको कांग्रेस सांसद विन्दुकुमार थापाले बताएका छन् । जनमाोर्चाका सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेपनि समर्थन रहेको जनाएका छन् ।

मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ । गण्डकी प्रदेशमा कुल ६० सांसद रहेका छन् । एमालेसँग २८ सांसद छन् ।

कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका दुई र जनमोर्चा तीन सांसद रहेका छन् । एक जना स्वतन्त्र सांसद छन् । उनी हुन् दीपक मनाङे अर्थात् राजिव गुरुङ ।

माओदीका सभामुख भएकाले एक भोट दिन पाउने अवस्था छैन । जनमोर्चा मिल्दा ३२ पुगेको छ । सभामुखले मत दिन नपाएमा ३१ हुनेछ । स्वतन्त्र सांसद मनाङ्गेसमेत मिसिन आएमा ३२ हुनेछ ।

कांग्रेसका सांसद थापाले अविश्वासको प्रस्ताव दर्ता भएकाले त्यसबारेमा छिनोफानो गर्न संसदको बैठक बोलाउन माग गरेका छन् । उनले हतारमा सबै सुतेका बेला मध्यराति संसद अन्त्य गर्न सिफारिस गर्ने मुख्यमन्त्री गुरुङको कार्यशैलीको विरोध गर्दै अधिनायकवादी चरित्रको संज्ञा दिएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिन्छन् । एमालेका नेता समेत रहेका अल्पमतमा परेका गुरुङले मुख्यमन्त्री पद बचाउन गरेको हर्कतहरू गरेको भन्दै कांग्रेस रिसाएको छ ।

Published : Thursday, 2021 April 15, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया