कम्युनिस्टहरू निकम्मा भए, कांग्रेसमाथि जनताको विश्वास बढ्योः तरुण कोषाध्यक्ष गुरुङ

पोखरा । नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूप्रति जनताको आकर्षण क्रमशः बढ्दै गएको बताएका छन् ।

नेपाल तरुण दल कास्की क्षेत्र नं. ३ ले पोखरामा राखेको शुभकामना अदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालासहितका नेताहरूमा जनताले भरोसा गर्न थालेको बताए । कम्युनिस्टहरू झुठ बोलेर शासन सत्तामा पुगे पनि सत्ता चलाउन नजानेको बताए ।

कांग्रेसका युवा नेता समेत रहेका तरुण दलका कोषाध्यक्ष गुरुङले कांग्रेसका नेताहरूले विगतका गल्तीहरूलाई नदोहो¥याउने बताएका छन् ।

‘विगतमा हामीबाट गल्ती भएका छन् । सुधार गर्न चाहन्छौँ’, उनले भने, ‘जनताले सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई विश्वास गर्न थालेका छन् । अबको निर्वाचनमा कांग्रेसलाई बहुमत आउने गरेर तरुण दलले आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ ।’

प्रधानमन्त्री केपी ओली सरकार चलाउन पूर्णरुपमा असफल भएको बताएका छन् । ‘ओलीजी जनतालाई ढाँट्न सजिलो हुन्छ । सत्तामा पुगेर सत्ता चलाउन जान्नुपर्छ’, उनले भने, ‘कम्युनिस्टको लुटमा मुलुक परेको छ । विश्वमा नेपाली जनताको शिर कम्युनिस्टका कारण झुकाउन बाध्य भएका छन् ।’

तरुण कोषाध्यक्ष गुरुङले प्रधानमन्त्री ओलीले आफ्नो पदीय हैसियत भुलेर भारतको गुप्तचर संस्था ‘रअ’का चिफ भेट्ने कार्य भएको भन्दै आपत्ति जनाए ।

‘कम्युनिस्टको सरकार बन्दा शान्ति होइन अशान्ति हुन्छ । भ्रष्टाचार हुन्छ । सुरक्षाको अभाव । गृहमन्त्री रामबहादुर थापाले राम्रोसँग नेतृत्व लिन नसक्दा महिलाहरू सबैभन्दा धेरै असुरक्षित भएका छन्’, गुरुङले भनेका छन् ।

‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको काण्डमा अपराधीको खोजी भएन । गृहमन्त्रीकै परिवारका सदस्यहरू निर्मला काण्डमा संलग्न छन् भन्ने सुन्न पाइएको छ’, उनले भने, ‘जनताको अनुहारमा खुसी छैन । कांग्रेसले जनतालाई खुसी दिन्छ ।’

‘वामपन्थीको सरकार बन्दा नेपालको इतिहाँसमा दिदीबहिनीको इज्जत लुटिएको घटनाहरू यही सरकारका पालामा धेरै भएको छ’, उनले भनेका छन् ।

कोषाध्यक्ष गुरुङले मुलुकमा ढिलो चाडो निर्वाचन हुनेभन्दै चुनावको तयारीमा लाग्न तरुणहरूलाई निर्देशन दिएका छन् । ‘तरुण दल नेपाली कांग्रेसको मेरुदण्ड हो । मिनी कांग्रेस हो । तरुण दल कांग्रेसको साथी संगठन हो’, उनले भनेका छन् ।

केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने संभावना नरहेको बताए । उनले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले पूर्णरुपमा समर्थन नगरेसम्म कांग्रेसले सरकार नबनाउने उनले स्पष्ट पारेका छन् ।

आङ्देम्वेले कम्युनिष्ट पार्टीहरूप्रति जनताको विश्वास गुमिसकेकाले कांग्रेसले दुईतिहाइ मत ल्याउने गरी निर्वाचनको तयारीमा लाग्न कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नयाँ वर्षको शुभकामना आदान प्रदान तथा तरुण युवा कार्यकर्ता भेट्घाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे, नेपाली कांग्रेस कास्कीका सभापति विष्णु केसी सभापति, नेता यज्ञ थापा, नेपाल तरुण दल क्षेत्र नं. ३ का अध्यक्ष विकास गुरुङ, नेपाल तरुण दल कास्कीका जिल्ला सदस्य पवित्रा थापालगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 April 15, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया