काठमाडौंमा मनाइयो अम्बेडकर जयन्ती

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावास र काठमाडौं विश्वविद्यालयले अम्बेडकर जयन्ती मनाउनुका साथै वैश्विक परिवेशमा बाबा साहेब भीम राव अम्बेडकरको सान्दर्भिकताबारे छलफल कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, स्कुल अफ लका डिन डा.ऋषिकेश वाग्ले, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.उद्घव प्याकुरेल, भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमार तथा प्राध्यापक डा. केदारनाथ शर्माको उपस्थिति थियो ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्थीले पनि सहभागिता जनाएका थिए ।

विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले आधुनिक भारतको निर्माणमा बाबा साहेब भीम राव अम्बेडकरको भूमिका तथा समाजका सीमान्तकृत वर्गको सामाजिक उत्थानमा उनको योगदानबारे प्रकाश पारेका थिए ।

भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले विद्यार्थीलाई ‘बाबा साहेब’का विचारधारालाई अनुसरण गर्न प्रेरित गरेका थिए ।

डा.ऋषिकेश वाग्लले आधुनिक भारतको निर्माणमा र भारतको राजनीतिक तथा सामाजिक—आर्थिक रुपान्तरणमा भारतको संविधानको भूमिकाबारे चर्चा गरे ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदारनाथ शर्मा र स्कुल अफ आर्ट्सका डिन प्राध्यापक डा. सागरराज शर्माले पनि भारतीय समाजको रुपान्तरणमा डा. अम्बेडकरको भूमिकाबारे चर्चा गरेका थिए ।

सोही अवसरमा बाबा साहेब अम्बेडकरको जीवनीमा आधारित ‘मूक नायक’ नामक वृत्तचित्र पनि देखाइएको थियो ।

Published : Tuesday, 2021 April 13, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया