एमालेका पावरवाला सांसदका सहयोगीले ललितपुरमा सहकारीलाई जिल पारे, कम्युनिस्टभित्र खैलाबैला

लगनखेल । ललितपुरको लगनखेलस्थित अरुणिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राजेन्द्र न्यौपानेलाई कर्जा चुक्ता गर्न पत्र पठाएको छ ।

न्यौपानेले अटेर गरेर सहकारीको २ लाख ९४ हजार ७ सय ४४ रुपियाँ नबुझाएको पत्रमा उल्लेख छ । व्यापार व्यवसाय गर्नेभन्दै न्यौपानेले सहकारीबाट ८ लाख रुपियाँ ऋण लिएका थिए ।

न्यौपानेले २०६७ साल फागुन ११ गतेबाट बाँकी सावा तथा व्याज बुझाएका छैनन् । भाखा नाघिसकेपछि सहकारीले न्यौपानेलाई मौखिक तथा टेलिफोनबाट पटक–पटक ताकेता गर्दा समेत गरेको जनाएको छ ।

फागुन १७ गतेसम्म बाँकी सावा रु. २ लाख ३९ हजार ७ सय ४४ र व्याज ५५ हजार समेत गरि २ लाख ९४ हजार ७ सय ४४ रुपियाँ कर्जा चुक्ता गर्न बाँकी रहेको न्यौपानेलाई सहकारीले पठाएको पत्रमा उल्लेख छ ।

सहकारीले न्यौपानेलाई कर्जा चुक्ता गर्न उपस्थित हुन पठाएको पत्रको बोधार्थ डिभिजन सहकारी कार्यालय ललितपुर र वडा प्रहरी कार्यालय लगनखेललाई पठाएको छ ।

तर, वडा कार्यालयका इञ्चार्ज सुरेन्द्रबहादुर टेरले सहकारीबाट कुनै पत्र नआएको बताए । उनले कानूनी प्रक्रियाअनुसार आएमा प्रहरीले कसरी कारबाही अगाडि बढाउने सो विषयमा सोँच्न सकिने बताए ।

सहकारीले कर्जा तिर्न नमाने कानून बमोजिम कारबाही अगाडि बढाउने र कर्जा असुल गर्दा सो वापत लाग्ने सम्पूर्ण खर्च ऋणीसँग असुल्ने चेतावनी दिएको छ ।

न्यौपानेले सहकारीको बाँकी रहेको ऋण चुक्ता गर्ने बताए । उनले भने, ‘सहकारीका राम श्रेष्ठसँग कुरा गर्छु । ऋणको सावा व्याज नतिर्ने भन्ने होइन । तिर्छु ।’

सहकारीका ऋण उपसमितिका ऋण संयोजक राम श्रेष्ठले वडा प्रहरी कार्यालयलाई बोधार्थ दिइएको तर, पठाउने प्रक्रियामा रहेको बताए ।

श्रेष्ठले न्यौपानेलाई सम्बोधन गरेर चलानी नम्बर राखेर पत्र नै पठाएका छन् । सावा व्याज तिर्नका लागि न्यौपानेलाई पत्र पठाएको श्रेष्ठले स्वीकार गरेका छन् ।

सहकारीलाई सावा व्याज भाखाभित्र नबुझाएका न्यौपाने सत्तारुढ एमालेका सांसद नवराज सिलवालका सहयोगी हुन् । न्यौपानेले सिलवालको आडमा सहकारीलाई ऋण नतिरेको आरोप छ ।

Published : Tuesday, 2021 April 13, 4:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया