ओली समाप्त हुँदै, कांग्रेस नेता खाणको घोषणाले बालुवाटारमा खैलाबैला

हनवलपरासी । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले राजा ज्ञानेन्द्र जस्तै सकिने पालो अब प्रधानमन्त्री केपी ओलीको भएको बताएका छन् ।

नेपाली कांग्रेसस केन्द्रीय शिक्षा विभागद्वारा नवलपरासीमा बिहीबार आयोजित ‘राष्ट्रिय शिक्षा नीति’ प्रारम्भिक प्रतिवेदन प्रस्ताव, छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खाणले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा नदिएर जितीया शासक जस्तो गर्दै हिँडेको बताए । अब उनको सकिने दिन आएको कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाणले बताए ।

खाणले सबैभन्दा ठूलो जित निःसन्देह वैचारिक जित भएको भन्दै त्यसमा नेपाली कांग्रेस विजयी भएको बताए ।

उनले संविधानले स्थापित गरेको लोकतन्त्रका सारभूत मान्यताको प्रणेता पनि कांग्रेस भएको उल्लेख गरेका छन् ।

संविधानलाई बहुसंख्यक नेपालीहरूले खुला हृदयले स्वागत गरेको अवस्थामा सोही संविधानको कार्यन्वयनको जिम्मा भने नेपाली नागारिकले नेपाली कांग्रेसलाई नदिनु पार्टीभित्रकै गुट उपगुटले काम गरेको खाणले बताएका छन् ।

‘विचार र निर्वाचन भिन्ना भिन्नै होइनन, एकै सिक्काका दुई पाटा हुन् एकको विजयले अर्कोमा पनि स्वतः विजय हुनु पर्ने हो’, उनले भनेका छन् ।

‘कांग्रेस पार्टीको विचारले जितेर पनि चुनाव किन हा¥यौं त ? यसको अर्थ के ? हाम्रो विचारले जितेकै होइन ? हामी हाम्रो विचार जित्यो भन्ने भ्रममा छौं ?’, उनले प्रश्न गर्दै भने, ‘के नेपाली कांग्रेसको राजनीतिक विचारमा नेपाली जनताको र हाम्रो बुझाई फरक छ ? के अहिले राजनीतिक विचार र मुद्दाको नेतृत्व नेपाली कांग्रेसले गर्दैन ?’

‘यी प्रश्नहरूमा पार्टीभित्र गम्भीर र इमान्दार छलफल गर्नुपर्छ’, उनले भने, ‘एकपटक मात्र होइन निरन्तर छलफल गरेर किन हाम्रो र नेपाली जनताको हामीप्रतिको बुझाइमा सामन्जस्यता आउन सकेन ? यो बारेमा आम जनतालाई नेपाली कांग्रेसले बुझाउनुपर्छ ।’

कांग्रेस नेता खाणले चुनावमा नेपाली कांग्रेसले खेप्नु परेको हारलाई कांग्रेस नेता कार्यकर्ताले सामान्य हारका रुपमा नलिएको बताए ।

त्यसलाई प्रतिकुल चुनावी परिणामले आम कांग्रेस समर्थक तथा सुभेच्छुकहरूमा समेत चरम निराशा उत्पन्न गरेको उनले बताएका छन् ।

‘उनीहरूको आत्मसम्मानमा गम्भीर ठेस पुगेको छ’, उनले भने, ‘आफ्नो विचार, मूल्य र मान्यतालाई आम नागरिक र राष्ट्रिय राजनीतिले स्वीकार गर्दागर्दै जसरी चुनावी हारको सामना गर्नु परेको थियो त्यसले कांग्रेसी तथा कांग्रेसजनमा एउटा विश्वासको संकटको स्थिति सिर्जना भएको छ’, खाणले भनेका छन् ।

‘यसबारेमा पार्टीले गम्भीर रुपले लिएर अगाडि बढनुपर्छ’, प्रमुख सचेतक खाणले भनेका छन् ।

अब पार्टीलाई उकास्न वैचारिक, व्यवहारिक तथा रणनीतिकस्तरमा नयाँ सोँच र गुट उप–गुटमा अल्झिन नहुने खाणले बताएका छन् ।

कार्यक्रममा खाणका साथै कांग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपाल, देवेन्द्रराज कँडेल, विभागका उप–प्रमुख शेषनाथ अधिकारी, संगठन विभागका केन्द्रीय सदस्य राजु खनाल, नवलपरासी कांग्रेसका जिल्ला सभापति विष्णु पौडेल, प्रदेश सांसद बैजनाथ कलवार, पुष्पा चौधरी, जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, नेपाल महिला संघकी अध्यक्ष कमला भण्डारी, उप–प्रमुख रम्भा कुँवरलगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 April 8, 11:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया