निर्वाचनमा क्षति हुने गरेर कांग्रेस सरकारमा जाँदैन, पहिला जितेर आउँछौँः एनपी साउद

चापागाउँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेसले अधिनायकवादी र क्षेत्रीय पार्टीका मुद्धामा सहमति गरेर सत्तामा जान हतार नगर्ने बताएका छन् ।

ललितपुर जिल्लाको गोदावर नगरपालिका–११ प्याङगाउँचौर, चापागाउँमा बिहीबार वीर गणेशमान सिंह स्मृति चौथो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै साउदले कांग्रेसले निर्वाचन जितेर आएर एकलौटी सरकार बनाउने बताए । निर्वाचनमा कांग्रेसलाई क्षति हुने गरेर अहिलेको अवस्थामा सरकारमा नजाने उनले बताए ।

‘कांग्रेस जनअनुमोदित भएर आइसकेपछि मात्रै मुलुकमा प्रजातन्त्र पनि स्थिर हुन्छ’, उनले भने, ‘मुलुकको आर्थिक प्रगति हामी सुनिश्चित गर्छौं ।’
‘कांग्रेस पटक–पटक सत्तामा गएको छ । कुनै समय राम्रो काम गर्न सकिएको छैन’, उनले भने, ‘राष्ट्रिय सहमति आवश्यक पर्छ । निर्वाचनमा एउटै दृष्टिकोणमा राष्ट्रिय सहमति बनाएर जानुपर्छ ।’

उनले भने, ‘अधिनायकवादी पार्टी र क्षेत्रीय पार्टीका मुद्धामा सहमति गरेर सत्तामा जाने हतार गरेमा कांग्रेसका लागि ज्यादै चुनौतीपूर्ण हुनेछ ।’

‘सत्तामा जान संघर्ष गर्नु हुँदैन । जसको मूल्य चुनावमा तिर्न परोस्’, कांग्रेस नेता साउदले भने, ‘कांग्रेसले प्रभावकारी भूमिकालाई निर्वाह गर्नुपरेको छ ।’

नेता साउदले भने, ‘शेरबहादुर देउवाले विवोकको परिचय दिनुभएको छ । संयमको परिचय दिनुभएको छ । राष्ट्रिय नेताको रुपमा राष्ट्रिय राजनीतिका रुपमा अगाडि बढाउनका लागि जुन पहल कदमी लिनुभएको छ । त्यो अत्यन्तै प्रशंसनीय छ ।’

गणेशमान सिंहले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताएका नेता साउदले भने, ‘सर्वसम्मतिले प्रधानमन्त्रीको अफरलाई गणेशमान सिंहले अस्वीकार गर्नुभएको थियो ।’

‘०४८ सालमा मुलुकमो प्रजातन्त्र आयो । राज्य सञ्चालनको नेपाली कांग्रेसको तौरतरिकामा कमीकमजोरी छ भनेर गणेशमान सिंहज्यूले भन्नुभयो’, उनले भने, ‘राज्यलाई समावेशी बनाउनुपर्छ । सबैलाई राज्यमा प्रतिनिधित्व दिनुपर्छ भन्नुभयो ।’

Published : Thursday, 2021 April 8, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया