नयाँ सरकारमा कांग्रेसले खेलकुद मन्त्रालय लिने शंकर भण्डारीको घोषणा

चापागाउँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले कम्युनिस्टहरू तीन वर्षमा असफल भएका कारण कांग्रेस पार्टीको काँधमा नयाँ अभिभारा आएको बताएका छन् ।

ललितपुर जिल्लाको गोदावर नगरपालिका–११ प्याङगाउँचौर, चापागाउँमा बिहीबार वीर गणेशमान सिंह स्मृति चौथो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले कांग्रेसले मुलुकको संविधान र लोकतान्त्रिक प्रक्रियालाई बचाउने बताए । उनले कम्युनिस्टहरूले मुलुकलाई छिन्नविभन्न बनाएको बताए ।

‘कांग्रेस पार्टीको काँधमा नयाँ अभिभारा आएको छ’, उनले भने, ‘मुलुकको लोकतान्त्रिक प्रक्रियालाई जोगाउँदै जनताको अधिकारलाई सुनिश्चित गर्दै समृद्ध र सम्पन्न मुलुक बनाउने अभिभारा कांग्रेसले पूरा गर्नुपर्ने अवस्था आएको छ ।’

‘भोलिको दिनमा कांग्रेसले सरकार चलाउँदै गर्दा हामीले प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ निश्चित रुपमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिइनेछ’, उनले भनेका छन् ।

‘कांग्रेसले खेल क्षेत्रलाई महत्व नदिएको भनेर धेरै गुनासो पनि आएको छ’, पूर्वमन्त्री समेत रहेका भण्डारीले भने, ‘आगामी दिनमा कांग्रेसको सरकार बन्दै गर्दा कांग्रेसले खेलकुद मन्त्रालय लिनेछ ।’

उनले भने, ‘खेलकुदमा भूमिका खेल्न सक्ने साथीलाई मन्त्री बनाउनेछ । खेलकुद मन्त्रीले दीर्घकालीन कार्ययोजना बनाउनेछन् ।’

‘कम्युनिस्टको कारणले देश अस्तव्यस्त बनेको छ । खेल क्षेत्र अस्तव्यस्त बनेको छ’, कांग्रेस नेता भण्डारीले भने, ‘विकासका सबै क्षेत्र अपत्र परेका छन् ।’

‘कम्युनिस्टहरूले पहिलो पटक झण्डै दईतिहाइको बहुमतका साथ जिते’, उनले भनेका छन्, ‘तीन वर्षमा भ्रष्टाचार र अधिनायकवादी शैलीभन्दा कुनै काम गर्न सकेनन् ।’

‘लोकतान्त्रिक परिपाटीलाई उल्लंघन गर्दै मुलुकको सबै क्षेत्रलाई तहस नहस पार्दै, मुलुकलाई अस्थिरताको बाटोमा अगाड बढाउँदै आज मुलुकलाई अस्तव्यस्त बनाएका छन्’, तरुण विभागका प्रमुख भण्डारीले भनेका छन् ।

नेपाली कांग्रेसले लामो समयदेखि खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको छैन । कांग्रेसले खेल क्षेत्रलाई महत्व नदिएको भनेर खेलाडी र खेल क्षेत्रका व्यक्तिले कांग्रेस नेतृत्वसँग असन्तुष्टि पोख्दै आएका छन् ।

Published : Thursday, 2021 April 8, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया