हार्ने पक्का भएपछि बालुवाटारको साइबर सेना भ्रम छर्न सक्रिय, पत्रकारमाराहरूको समर्थन शर्मालाई

काठमाडौं । सत्तारुढ एमालेको भ्रातृ संगठन प्रेस चौतारीको तर्फबाट नेपाल पत्रकार महासंघको अध्यक्षमा उम्मेदवार बनेकी निर्मला शर्माले ठूला मिडियाले आफूलाई सहयोग गरेको भन्दै साना र मोफसलका पत्रकारहरूको अपमान गरेकी छिन् ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका प्रेस संयोजक चेतन अधिकारी प्रधान सम्पादक रहेको नेपालीबहस डटकम नामक अनलाइनले शर्मालाई कान्तिपुर दैनिक, नागरिक दैनिक, अनलाइन खबर, सेटोपाटी डटकमका सम्पादकले जितका लागि सहयोग र शुभेच्छा राखेको समाचार सम्प्रेषण गरेको छ ।

कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा हुन् । सम्पादक शर्मा र कान्तिपुर पब्लिकेशनका मालिक कैलाश सिरोहियाले लकडाउनका बेला पत्रकार कर्मचारीलाई जागिरबाट निकालेको र तलव नदिएको भनेर पत्रकार महासंघमा उजुरीनै परेको थियो ।

विवादित र बदनाम भएका सम्पादक र मालिकहरूले एमाले निकट शर्मालाई साथ दिएको समाचार नेपालीबहस नामक अनलाइनमा गौरवका साथ समाचार लेखिएको छ ।

नागरिक दैनिकले पनि लकडाउनका बेला पत्रकारलाई समयमा तलव नदिएर श्रमजीवी पत्रकारलाई हदैसम्मको दुःख दिएको आरोप छ ।

ओली निकटको ‘नेपालीबहस’ नामक सो अनलाईनले महासंघको निर्वाचनमा अध्यक्षको उम्मेदवार बनेकी शर्मालाई ठूला मिडिया हाउसका सम्पादक र वरिष्ठ पत्रकारहरूले विजयीका लागि शुभेच्छा प्रकट गरेको भनेर समाचार लेखेको छ । भोट माग्दा शुभेच्छा प्रकट गरेको कुरालाई समर्थन भए जसरी समाचार बनाएपछि लोकतन्त्रप्रति आस्था र भरोसा राख्ने पत्रकारहरू आश्चर्य चकित परेका छन् ।

‘शर्माको उम्मेदवारीलाई शुभेच्छा प्रकट गर्नेहरूमा कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्मा, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेल, अनलाइन खबर डटकमका प्रधान सम्पादक तथा पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले, सेतोपाटी डटकमका प्रधान सम्पादक अमित ढकाल रहनुभएको छ’, नेपालीबहसको समाचारमा उल्लेख छ ।

शर्मालाई नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष तथा महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्ट, इकागज डटकमका प्रधान सम्पादक हरिबहादुर थापा, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, नेपाल लाइभ डटकमका सम्पादक रामेश्वर बोहरा, हिमाल खबर डटकमका कार्यकारी सम्पादक रविन गिरी, वरिष्ठ पत्रकाररू कनकमणि दीक्षित, रघु मैनाली, आरती चटौतलगायतले पनि शर्मालाई जितको शुभकामना दिएको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीकै प्रेस संयोजक अधिकारी प्रधान सम्पादक रहेको नेपाली बहस नामक अनलाइनले भ्रम सिर्जना गर्ने गरेर मतदानको १२ घण्टा अगाडि समाचार सम्प्रेषण गरेपछि सम्पादकहरूभित्र खैलाबैला भएको छ ।

समाचार आएपछि इकागज डटकमका सम्पादक हरिबहादुर थापाले शर्मालाई आफ्नो कुनै पनि समर्थन नरहेको बताएका छन् । आफू निकटका पत्रकारहरूसँग सम्पादक थापाले भनेका छन्, ‘पत्रकार महासंघको निर्वाचनमा कुनै पनि सरकारी उम्मेदवारहरूलाई मतदान गर्नु हुँदैन । ओली नेतृत्वको एमालेको सरकार प्रेस स्वतन्त्रता विरोधी छ । पत्रकारको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध छ । सत्तारुढ समर्थक उम्मेदवारहरूलाई भोट हाल्नु हुँदैन ।’

नेपालीबहस नामक अनलाइनको समाचारमा नाम रहेका अधिकांश सम्पादकहरू एनजिओ र आईएनजिओ चलाउनेहरू छन् । पश्चिमा राष्ट्रबाट डलर ल्याएर एनजिओ चलाउने कनकमणि दीक्षित, रघु मैनाली, शिव गाउँले लगायतका रहेका छन् ।

नेपाल पत्रकार महासंघमा सत्तापक्ष अर्थात ओली गुटको एमालेका उम्मेदवारहरूको हार हुने पक्का भएपछि बालुवाटारको हण्डी खाएका कथित साइबर सेनाहरू भ्रम सिर्जना गर्न सक्रिय भएको आरोप छ ।

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको जित सुनिश्चित देखेपछि बालुवाटारको साइबर सेना र ओली समूहको एमाले सबै हत्कण्डा अपनाउन सक्रिय भएको छ । बुधबार देशभरि हुन लागेको मतदानमा ओली समूहको हार निश्चित जस्तै रहेको चर्चा सामाजिक सञ्जालमा छ । पोखरेल श्रमजीवी पत्रकारहरूको पक्षमा सधैँ यो वा त्यो भनेर नलागेका व्यक्ति हुन् ।

आफै पनि पत्रिका चलाएर बसेका पोखरेलले पत्रकारको हकहितको पक्षमा सधैँ आफूलाई अगाडिनै राख्ने गरेका छन् ।

Published : Tuesday, 2021 April 6, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया