बाग्लुङ कांग्रेस कार्यसमितिका सदस्यसहित दुईको हत्या हुँदा प्रवक्ताको अल्छी लाग्ने चिसो विज्ञप्ति
काठमाडौं । नेपाली कांग्रेसले बाग्लुङका जिल्ला सदस्य प्रकाश कुँवर र दीपक परियारको ज्यान जाने गरि भएको घटना अमानवीय र अत्यन्तै निन्दनीय भएको जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरेर दोषीलाई अविलम्ब पक्राउ गरि छानविन गरेर हदैसम्मको कारबाही माग गरेका छन् ।
बाग्लुङ जिल्लाको गुल्मी र प्यूठानसँग सिमाना जोडिएको बल्देको धुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय रहेको प्रवक्ता शर्माले बताएका छन् ।
‘होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ ? यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरूलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
घटनामा प्रकाश कुँवर र दीपक परियारले जीवन गुमाएका छन् । कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन् । दुवै युवाको मृत शरीर भिरबाट करीब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिएको प्रवक्ता शर्माले बताएका छन् ।
‘प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसंग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न नेपाली कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थल पुग्दैछ ।’
‘घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानूनी कार्वाही अघि बढाउन नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
उता, नेपाली कांग्रेस बाग्लुङले फागु पूर्णिमाका दिन बडीगाड गाउँपालिका– १० बल्देको धुरीमा परम्परागत रुपमा पाग्ने मेलामा सहभागी भएका जिल्ला कार्यसमितिका सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक परियारमाथि सुनियोजित तरिकाले सांघातिक हमला गरि योजनावद्ध रुपमा हत्या गरिएको दाबी गरेको छ ।
बाग्लुङ कांग्रेसका सभापति दीपेन्द्रबहादुर थापाले सोमबार विज्ञप्ति जारी गरेर कुँवर र परियारलाई योजनावद्ध रुपमा हत्या गरिएको क्रुर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘यस घटनाका सन्दर्भमा विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा आएका भिडियो, फोटो लगायतका सामग्रीहरूले दिएको प्रमाणहरूलाई हेर्दा घटना सुनियोजित र आपराधिक मानसिकताबाट प्रेरित भएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
‘घटनामा संलग्न अपराधीहरूलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गरि दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न र घटनामा गमभीर घाइते ज्ञानु दमाईलगायत अन्य घाइतेहरूको औषधि उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौँ’, बाग्लुङ कांग्रेसका सभापति थापाले भनेका छन् ।
बाग्लुङ कांग्रेसका जिल्ला सदस्य कुँवर र सक्रिय कार्यकर्ता परियारको हत्या हुँदा समेत नेपाली कांग्रेसका प्रवक्ता शर्माले कमजोर र अल्छी लाग्ने विज्ञप्ति जारी गरेको भन्दै बाग्लुङ कांग्रेसका नेता कार्यकर्ता रिसाएका छन् ।
हत्याको घटनामा कम्युनिस्टका स्थानीय नेता कार्यकर्ताहरू संलग्न रहेको दाबी गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया