शुक्रबारबाट ओलीको कुर्सी झन् असुरक्षित, बालुवाटारमा ‘किचन क्याबिने’को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप लागेका बेला वरिष्ठ नेता माधव नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

नेपाल र दाहालबीच काठमाडौंको कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा गोप्य भेटवार्ता भएको हो । भेटवार्तालाई नेपाल–दाहालले लुकाउन खोजेका छन् ।

नेता नेपाल र दाहालबीच शुक्रबार बिहान दोस्रो पटक भेटवार्ता भएको छ । यो भेटले एमाले र माओवादीभित्र खैलाबैला बनाइदिएको छ ।

बिहान करीव साढे ८ बजेदेखि दुई घण्टा नेपाल र दाहालबीच सम्वाद भएको स्रोतले जनाएको छ । यसअघि बिहीबार नेपाल र दाहालबीच कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा भेटवार्ता भएको थियो ।

ओलीले नेपालसहित चार नेताहरूलाई स्पष्टीकरण सोधेका छन् । चारैजना नेताहरूले स्पष्टीकरण पनि बुझाएका छन् ।

ओलीले पार्टीको अनुशासन विपरितको कार्य गरेको भन्दै वरिष्ठ नेता नेपालका साथै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए । ओलीले उनीहरूलाई कारबाही गरेर एमालेबाटै हटाउने तयारी गरेको आरोप छ ।

नेता नेपालले ओलीसँग केही नरम जस्तो देखिए पनि राजनीतिक लडाइँमा भिडेरै अगाडि बढ्ने योजना बनाएको उनका गतिविधिहरूले देखाएको छ । नेता नेपाल र दाहालको भेटघाट र सक्रियताबाट ओली सशंकित हुन पुगेका छन् ।

बालुवाटारमा ओलीले नेता नेपाल र दाहालको गतिविधिका विषयमा ‘किचन क्याबिनेट’का सदस्यहरूसँग परामर्श गरेको उच्च स्रोतले जनाएको छ ।

हल्लिदै गरेको प्रधानमन्त्रीको कुर्सीलाई बचाउन ओलीले जनता समाजवादी पार्टी नेपाललाई सरकारमा आकर्षक ८ मन्त्रालय र उप–सभामुख पद दिएर सत्तामा ल्याउन खोजेका छन् ।

ओलीले बालकसहित प्रहरीहरूको सामूहिक हत्या अभियोगमा जेलमा सजाय काटिरहेका रेशमलाल चौधरीलाई समेत छाड्न ओलीले सहमति जनाएको चर्चा छ ।

ओलीलाई आफ्नो सरकार बचाउन १८ सांसदहरूको आवश्यक्ता पर्छ । जसपा सरकारमा सहभागी भएन भने त्यसलाई फुटाएर पूर्व राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को समूहलाई सरकारमा ल्याउन ओलीले प्रयास गरिरहेको आरोप एमालेभित्रै छ ।

Published : Friday, 2021 March 26, 4:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया