सरकारबारे खुमलटार र बालुवाटार हल्लिने देउवाको खुलासा, कम्युनिस्टको पुच्छर नबन्न पुलिसलाई चेतावनी

धरान । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र माओवादीले बुहमतका आधारमा संयुक्त सरकार बनाएको भन्दै अहिलेनै कांग्रेस सरकारमा जाने अवस्था नरहेको बताएका छन् ।

मंगलबार धरानमा ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलनको सन्दर्भमा आयोजित समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ओलीको सरकारलाई दिएको समर्थन प्रचण्डले फिर्ता नलिएको बताए । उनले माओवादी र एमाले मिलेर संयुक्त सरकार बनाएको बताए ।

‘अबफेरि नयाँ कुरा आएको छ । शेरबहादुर केही बोलन भन्ने होला । शेरबहादुर प्रधानमन्त्री हुँदैन, प्रधानमन्त्री पाउँदा खान्छ वा खाँदैन भन्ने हल्ला छ यहाँ त !’, उनले भनेका छन् ।

‘एउटा कुरा के स्पष्ट पार्न चाहन्छुभन्दा अहिले अदालतको दुइटा निर्णय भएको छ । एउटा निर्णयले संसद फिर्ता भएको छ । अदालतको निर्णय मानेका छौँ । अदालतले जे निर्णय गर्छ त्यो मान्छौँ भनेका थियौँ । संसदमा भाग लिएका छौँ’, देउवाले भने, ‘अर्को निर्णय भएको छ, माओवादी पार्टी, एमाले पार्टी । दुइटा पार्टी भएको छ नि ? दुइटा पार्टी एउटै सरकारमा छन् ।’

देउवाले प्रश्न गर्दै भनेका छन्, ‘के भयो त यो ? यो संयुक्त सरकार भयो । दुइटा पार्टीको सरकार भनेको संयुक्त सरकार भयो । प्रचण्डजी फिर्ता लिएका छैनन् । छोडेका छैनन् । मन्त्री भएर बसेकै छन् । ओलीले निकालेका छैनन् । बसेकै छन् ।’

‘त्यसै कारण अहिलेको संयुक्त सरकार हो । संयुक्त सरकार भनेको बहुमतको सरकार हो’, उनले भने, ‘बहुमतका सरकारमा हामीले चाहेर प्रधानमन्त्री बन्दैन नि ? न प्रचण्डले फिर्ता लिएको छ ? न ओलीले हटाएको छ ? यसै कारणले कुरा बुझ्नु प¥यो तपाईहरूले ।’

उनले भने, ‘शेरबहादुरले प्रधानमन्त्री खाँदै खान्न भन्छन् बा ? त्यो कुरा होइन नि ? फस्ने काम गर्नु भएन नि मैले पनि ?’

‘त्यस कारण ध्यान केमा दिनुपर्‍यो भने यो अहिलेको सरकार संयुक्त सरकार हो । बहुमतको सरकार हो’, देउवाले भने, ‘जबसम्म बहुमतको सरकार छ, तबसम्म हामीले निहुँ खोज्ने काम गर्नु भएन नि ? हामीले विपक्षी पार्टीको भूमिका खेल्ने हो । लड्ने हो, भिड्ने हो, अधिनायकवादका विरुद्ध, देशभरि संगठन गर्ने हो, त्यस काममा लाग्ने हो । जनता र पार्टीका साथीहरूको इच्छाअनुसार हामी अगाडि बढ्ने हो ।’

सभापति देउवाले भनेका छन्, ‘प्रधानमन्त्रीका लागि मरिमेट्ने मेरो कुरा छैन । टाउकोमा आयो भने भाग्नेवाला पनि छैन ।’

सभापति देउवाले प्रहरीबाट कांग्रेसका कार्यकर्तालाई दुःख दिने काम भएको भन्दै प्रहरीमाथि खनिएका छन् । प्रहरीको धेरै आलोचना नगर्ने देउवाले धरानमा कम्युनिस्ट पार्टी र सरकारको पछाडि लागेर प्रहरीले कांग्रेसका कार्यकर्तालाई दुःख दिएको भन्दै त्यस्ता प्रहरीको हिसाब किताब राखेर नछाड्ने धम्की दिएका छन् ।

‘यहाँ मैले कुरा सुने । कर्मचारीहरू । पुलिस अफिसरहरू हाम्रा साथीहरूलाई दुःख दिइरहेका छन् । कम्युनिस्ट पार्टीमा आइज नत्र तपाइँलाई दुःख दिन्छु, मुद्धा लगाइदिन्छु भन्छ’, उनले भने, ‘हाम्रा साथीहरूलाई अनावश्यक दुःख दिइरहेको छ । कम्युनिस्ट पार्टीको सदस्य छ । कांग्रेस पार्टीको सदस्य भएको कारणले दुःख दिइराखेको छ ।’

चेतावनी शैलीमा देउवाले भने, ‘एउटा कुरा स्पष्ट भन्न चाहन्छु म यहिँबाट, उनीहरू जनताले तिरेको ट्याक्सबाट तलव खान्छन् । कुनै पार्टीले दिएको तलव खाएको होइन । जनताले कर तिरेको पैसाले तलव खाने जात हो यो पुलिस भनेको । पुलिसले कुनै पार्टीको काम गर्न पाइन्छ ? हामी कुनै हालतमा छोड्दैनौँ, छोड्दैनौँ, छोड्दैनौँ, छोड्दैनौँ ।’

‘हाम्रा साथीहरूलाई अनावश्यक रुपमा दुःख दिएकोमा छ । सबै साथीहरू निर्धक्क भएर बस्नुस् । अन्याय नगर्नुस्, गल्ती नगर्नुस्, हामी पछाडि छौँ’, उनले भने, ‘जनताले ट्याक्स तिरेको पैसाले तलव खाने, अनि पार्टीको काम गर्ने ? कुनै हालतमा सहँदैनौँ । हामी पार्लियामेन्टमा कुरा उठाएर बोल्न लगाएर छोड्ने वाला छौँ । विना डर, त्रासमा काम गर्नुस् भन्न चाहन्छु ।’

‘हाम्रा साथीभाइलाई अनावश्यक दुःख दिनेलाई हामी छोड्दैनौँ । हाम्रा साथीभाइले पनि कुनै गलत काम नगर्नु होला’, देउवाले भने, ‘गलत काम गरेपछि बहाना बनाउँछन् । गलत काम गर्ने छैन । अरुले गलत काम गर्दा छोड्नु पनि हुँदैन ।’

कांग्रेस सभापति देउवाले विजय गच्छदारको पक्षमा पार्टी उभिएको बताएका छन् । गच्छदारले न्याय पाउने उनले बताएका छन् ।

‘सुनसरीको नेता हुनु हुन्छ विजय गच्छदारजी । उहाँ हाम्रो पार्टीको नेता हो । उहाँमाथि अन्याय भएको छ’, देउवाले भने, ‘हामी सबै उहाँको पक्षमा छौँ । मलाई विश्वास छ । उहाँले न्याय पाउनु हुनेछ ।’

सभापति देउवाले नेपाल दलित संघका नेताहरूले कांग्रेसलाई भोट हाल्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

दलितहरूलाई कांग्रेसप्रति आकर्षण बढाउन उनले सुझाव दिएका छन् । ‘दलित आयोग गठन गर्ने काम मेरै पालामा सुरु भएको छ । जनता यो देशको मालिक हो’, देउवाले भने, ‘दलित समुदायका नेताहरूलाई जनसम्पर्क बढाएर जानुपर्छ ।’ उनले दलितले जता भोट हाल्यो त्यसैले जित्ने गरेको बताए ।

देउवाले धरानलाई कांग्रेसले महत्व दिएको बताए । धरानमा अस्पताल, बाटो सबै काम कांग्रेसले गरेको उनले बताए । ‘सबै साथीभाइहरू भेदभाव, झगडा नगरेर एकताबद्ध भएर अगाडि बढ्यौँ भने हाम्रो जित निश्चित छ’, उनले भनेका छन् ।

नेपाल दलित संघका सभापति मीनबहादुर विश्वकर्माले विभेदको उन्मुलन गर्ने पार्टी कांग्रेस मात्र भएको बताए ।

उनले शेरबहादुर देउवाको पालामा दलित आयोग बनेर दलितको लागि ठूलो अवसर प्राप्त भएको बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यदेखि स्थानीय तहसम्मका नेताहरूको उपस्थिति रहेको थियो । नेपाल दलित संघ, केन्द्रीय कार्यसमितिले समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेश १ स्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रम मंगलबार र बुधबार दुई दिन चल्नेछ । अन्तरक्रियामा प्रदेश १ का १४ जिल्लाबाट दलित संघका अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

Published : Tuesday, 2021 March 23, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया