प्रहरीका यी दुई एसएसपीको जागिर धरापमा, मरेका मान्छेको पैसा खाएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा नेपाल प्रहरीका आशा लाग्दा दुई वरिष्ठ उपरीक्षक (एसएसपी)माथि छानविन प्रक्रिया अगाडि बढाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्य र प्रहरी हेडक्वार्टर नक्सालमा कार्यरत पूजा सिंहविरुद्ध परेका उजुरीमाथि अख्तियारले छानविन र अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । एसएसपीद्वय बज्राचार्य र सिंहले आर्थिक अनियमितता गरेको अभियोग लागेको छ ।

एसएसपी बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनमा निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोपमा उजुरी परेको थियो ।

बज्राचार्य ०७२ असोज देखि ०७३ मंसिर सम्म भक्तपुर इञ्चार्ज थिइन् ।

एसएसपी सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी हुँदा सरुवा भएर जाने कर्मचारीले पाउने टीएडीए नदिएर आफैंले हिनामिना गरेको आरोप छ ।

सरुवा भएर जाने कर्मचारीलाई दिनुपर्ने भत्ता रकम लेखापालसँग मिलेर सिंहले नक्कली हस्ताक्षर गरेर कागजपत्र मिलाएको भन्दै उजुरी परेको थियो ।

सिंह ०७१ भदौदेखि ०७२ असोजसम्म काभ्रेको इञ्चार्ज थिइन् । अहिले उनी प्रहरी हेडक्वार्टरको प्रशासन महाशाखामा कार्यरत छिन् ।

अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डारीले एसएसपीद्वय बज्राचार्य र सिंहविरुद्ध परेको उजुर उपर छानविन भइरहेको बताएका छन् ।

प्रहरीका उच्च हाकिमले भ्रष्टाचार गरेका समाचार बेलाबेला बाहिरिने गरेको छ । प्रहरीभित्र ठूलो भ्रष्टाचार रहेको आरोप छ ।

Published : Sunday, 2021 March 21, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया