कांग्रेसमा ओलीलाई टक्कर दिन नेता बल्ल भेटिए, प्रमाणसहित भण्डाफोर गरेपछि बालुवाटारमा हलचल
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री खड्गप्रसाद ओली र उनको कम्युनिस्ट सरकारको एकएक झुठको पर्दाफास गरिदिएका छन् ।
संसदको शुक्रबार बसेको बैठकमा बोल्दै खाणले कम्युनिस्ट प्रधानमन्त्री ओलीको सबै झुठको भण्डाफोर गरिदिएका हुन् । खाणले ओलीलाई पुनःस्थापित संसद आउँदा पनि पदमा बसिरहेको भन्दै ओलीको नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन् । उनले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको जिम्मेवारी कसले लिन्छ भनेर ओलीसँग प्रश्न समेत गरेका छन् ।
‘संविधानको प्रावधान विपरित केपी ओली नेतृत्वमा रहेको कम्युनिस्ट सरकारले प्रतिनिधि सभाको विघटन गरेको थियो । सरकारको विघटनको यो निर्णयलाई नेपाली कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक, सर्वसात्तावाद र निरंकुशता प्रेरित कदम भनेको थियो’, उनले भनेका छन् ।
‘सरकारको यो असंवैधानिक निर्णयको खिलापमा कांग्रेसले देशभरि नै सबै जिल्लाहरूमा गाउँ, नगर र वडामा विरोधको कार्यक्रम गरेको थियो । सरकारको अधिनायकवादको खिलापमा, सर्वसत्तावाद र निरंकुशतको खिलापमा, संविधानविरुद्धको सरकारको निर्णयको विरुद्धमा, संविधानको रक्षाको लागि । संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै अदालतलाई धन्यावाद दिन चाहन्छु’, उनले भने, ‘यसको दायित्व सरकारले लिने कि ननिले ? यति ठूलो असंवैधानिक कदम चालिसकेपछि सर्वोच्च अदालतले सरकारको कदमलाई, प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनेपछि प्रधानमन्त्रीले यसको नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ? यसको जवाफ दिनुपर्छ कि पर्दैन ? त्यसका लागि प्रधानमन्त्रीजीले मार्गप्रसस्त गर्नुपर्छ कि पर्दैन ? यतापट्टि यो सदन गम्भीर बनोस् ।’
‘सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो असंवैधानिक कदम भनेर न्यायपालिकाले निर्णय गरिसकेपछि सरकारको निर्णयलाई खारेज गरिसकेपछि, विधिको शासन मान्छौँ, संविधानको रक्षा गर्छौं, संविधानवादको पालना गर्छौं, संविधान मान्छौँ, भन्ने सरकारले त्यो गल्तीको महशुस गरेर नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ? त्यो पनि म आग्रह गर्न चाहन्छु’, कांग्रेसका प्रमुख सचेतक खाणले भनेका छन् ।
उनले भने, ‘यो सरकार बनेदेखिनै संविधानमाथि प्रहार गरिरहेको थियो । सरकार संविधानको जगमै बनेको हुन्छ । संविधानको जगमा उभिएको हुन्छ । संविधानको पालना र रक्षा गर्नु सरकारको दायित्व हो । तर, यो सरकार बनेपछि निरन्तर यो संविधानमाथि प्रहार गरिरहेको छ । संविधानले नागरिकलाई मौलिक अधिकार प्रदान गरेको छ ।’
‘त्यसमध्ये सबैभन्दा महत्वपूर्ण अधिकार विचार र मौलिक अधिकार हो । सरकार बनेकै दिनबाट विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरिरहेको छ । माइतीघर, रत्नपार्कमा बोल्न नपाइने कतिपय निर्णय सरकार ग¥यो । जनताले मुद्धा हाले । सर्वोच्चमा मुद्धा हालेपछि सरकार खोल्न बाध्य भयो । सरकारले अग्रगमन गरेको छ कि ? प्रतिगमन गरेको छ ? एकपटक सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले छातीमा हात राखेर, संविधानको कितावमाथि हात राखेर आफैले सोध्नुस्’, खाणले प्रश्न गर्दै ओली सरकारमाथि प्रहार गरेका छन् ।
उनले भने, ‘कुनै पनि नागरिकको गोपनीयता हरण गर्न सकिने । कसैको पनि टेप, कम्युटर या ल्यापटपहरूदेखि सबै कुराको सरकारले पूर्ण रुपमा बन्देज गर्न सक्ने विधेयक ल्याएको छ । यो निरंकुश तानाशाही भएको देशमा मात्रै हुन्छ । जहाँ प्रजातन्त्र, लोकतन्त्र छ, विधिको शासन छ, उत्तरदायी सरकार छ त्यहाँ यस्तो खालको नागरिकको गोपनीयतालाई समाप्त गर्ने सरकारले यस्ता खालका विधेयक ल्याउन पाउँदैन ।’
खाणले भनेका छन्, ‘कोरोना महामारीका बारेमा छलफल गरौँभन्दा प्रधानमन्त्रीजीले अस्वभाविक रुपमा संसदको अन्त्य गर्नुभयो । यहाँ सामान्य छलफल पनि गरिएन । सामान्य शिष्टाचार पनि राखिएन । एकलौटी ढंगले अपर्झट, भूमिगत शैलीमा, भूमिगत शैलीमा पार्टीको मिटिङ राख्नु ठीकै थियो, भूमिगत शैलीमा जनप्रतिनिधि संस्था संसदको बैठकनै अन्त्य गरिदिनुभयो ।’
‘आरोप, प्रत्यारोप लगाइयो । महाअभियोग आउछ भनियो । महाअभियोग आउँछ भने सामना गरे भइहाल्थ्यो नि ? महाअभियोग लगाउँछ भनेर संसदको बैठकनै अन्त्य गरिदिने ?’, उनले ओलीसँग प्रश्न गर्दै सोधेका छन् ।
‘त्यसमा छलफलनै गर्न पाइएन । हामी धैर्यतापूर्वक सरकारलाई सहयोग गरिरहेका छौँ कोभिड–१९को महामारीका बेला । जनताले मुख थुनेर सहयोग गरिरहेको छ । भोको पेट र नाङ्गो आङ्गले सहयोग गरिरहेको छ । सरकार छ कि छैन भन्ने थाहा पनि भएन’, उनले भनेका छन् ।
‘बैठक गर्नुपर्छ भनेर सदननै भङ्ग । सर्वोच्च अदालतले अहिले पुनःस्थापित गरेको छ । यो सदनलाई रचनात्मक ढंगले अगाडि बढाऔँ । जनतामा एउटा नयाँ भरोसा र विश्वास पैदा गरौँ’, खाणले भने, ‘राजनीतिक दलमा भएका तिक्ततालाई पनि कम गर्दै फेरि हातेमालो र सहयात्रा गर्ने अवस्थामा अगाडि बढौँ भन्ने कांग्रेसको चाहना हो ।’
‘सरकारले सदनमा कुनै बिलनै ल्याउँदैन । कुनै विधेयक अगाडि बढाउन चाहँदैन । केही अध्यादेशहरू ल्याएको थियो । कुनै अध्यादेशहरू जरुरी पनि छन्’, कांग्रेसका प्रमुख सचेतक खाणले भने, ‘त्यसमा पनि सरकारले अत्तोथापेर हामीले पहिलो बैठकमा ल्याउन पाएनौँ त्यसकारण हाम्रो रिजर्वेशन छ भन्नु हुन्छ ।’
उनले भने, ‘एसिड आक्रमणसँग सम्बन्धित अपराधको दोषीलाई कडाभन्दा कडा सजाय होस् त्यसमा हाम्रो पार्टी तपाईको साथमा छ । कोभिडको व्यवस्थापनमा पनि सरकारलाई कांग्रेस रचनात्मक सहयोग छ । यो सरकारको पालामा सबैभन्दा धेरै बलात्कार र हिंसा भएको छ । त्यसको रोकथाम र नियन्त्रण गर्न सरकार असफल भइसकेको छ ।’
‘शान्ति प्रक्रिया र सहमतिमा कांग्रेस पूर्ण प्रतिवद्ध छ । अहिले पनि हाम्रो कमिटमेन्ट छ । जतिखेर यो हलमा अध्याँरो अनुहार लगाएर, मलिन अनुहार लगाएर केही नेताहरू बस्नुभएको थियो’, ओलीतिर संकेत गर्दै कांग्रेसका प्रमुख सचेतक खाणले भने, ‘उहाँहरू विभिन्न बहानामा यो शान्ति प्रक्रियालाई ध्वस्तपार्न, शान्ति प्रक्रियालाई ध्वस्तपार्न लागिरहनुभएको छ । समय आयो भने त्यो पार्टीको नाम र त्यो पार्टीका नेताहरूको नाम पनि भनौँला । अहिलेको विशिष्ट बेलामा बढी कुरा के गर्ने ? तपाईहरू आफैलाई थाहा होला । पुरानो फोटो हेरे थाहा भइहाल्छ नि ? कसको अनुहार मलिननो थियो ।’
उनले भनेका छन्, ‘संविधानका कमीकमजोरी हटाउन संविधान संशोधन गरौँ भनेकै छौँ । हामी सरकारमा हुँदा संविधान संशोधनको प्रस्ताव ल्याएर आएको हो । त्यतिखेर त्यो संविधान संशोधनको पक्षमा मतदान गर्नुभयो ? कसले विपक्षमा मतदान गर्नुभयो यहाँ रेकर्ड हेरे थाहा भइहाल्छ नि ।’
खाणले भने, ‘कोरोनाविरुद्धको भ्याक्सिन १७ लाख नेपालीले लगाएका छन् । प्रधानमन्त्रीलाई धन्यावाद दिन चाहन्छु । संसदको यही रोष्टममा आएर प्रधानमन्त्रीजीले के भन्नुभएको थियो भने– अब तीन महिनाभित्र नेपालका सबै नागरिकलाई कोभिडको भ्याक्सिन लगाइनेछ । प्रधानमन्त्रीले यहाँ (संसद) आएर बोलेको कुरा पनि ९ महिना भइसक्यो । कुन चाहिँ तीन महिना ? ०७७ सालको तीन महिना हो कि ? ०७८ सालको तीन महिना हो कि ? ०८९ सालको तीन महिना हो कि ? ०८० सालको तीन महिना हो ? कुनै सीमा नभएको तीन महिना हो कि ? १७ लाखलाई भ्याक्सिन लगाउनुभएको छ । नेपाल सरकारसँग ७ लाखभन्दा बढी स्टकमा भ्याक्सिन छैन । १७ लाखलाई भ्याक्सिन लगाइ सक्यो उसलाई सेकेण्ड डोज दिनुपर्नेछ । सेकेण्ड डोजलाई हामीसँग १७ लाख स्टकमै हुनुपर्ने थियो । जसले भ्याक्सिन लगाउन पाएका छैनन् उनीहरूलाई लगाइदिनुपर्ने पनि छ ।’
‘दश लाख भारत सरकारले हामीलाई उपहार दियो । अर्को दश लाख हामीले किन्यौँ । कम्पनीले झण्डै तीन लाख हामीलाई उपहार दियो । २३ लाख भ्याक्सिनको प्रबन्ध छ । ३४ लाख भ्याक्सिन चाहियो’, उनले भने, ‘छिमेकी मुलुक चीनले आठ लाख भ्याक्सिन दिएको अझै ढुवानी गर्ने जाहाज नपाएर उपहार दिएको भ्याक्सिन पनि ल्याउन सकिएको छैन । योभन्दा दुखद् के हुन सक्छ ? अबिलम्ब सबै नागरिकलाई दुबै डोज भ्याक्सिन लगाउने प्रबन्ध गरोस् ।’
खाणले भने, ‘मेलम्चीको पानी आउने भएको छ । यो मेलम्चीको पानी आउने सपना सन्त नेता कृष्णप्रसाद भट्टराईले देख्नुभएको हो नि । त्यो मेलम्चीको पानी आउने भयो । जनतालाई काकाकुलबाट राम्रो अवस्थामा लैजाने भइयो । सबैलाई धन्यावाद । तर, कृष्णप्रसाद भट्टराईको नाम एकपटक लिन पनि तपाईलाई कन्जुस्याइँ ?’
‘मेलम्चीमा गयो भने भट्टराईजीको नाम छैन । सुन्दरीजलमा गयो भने भट्टराईजीको नाम छैन । पार्लियामेन्टको रोष्टममा आउँदा पहिलो सभामुख पनि हो’, उनले भने, ‘०४६ सालको उहाँ क्रान्ति नायक पनि हो । भट्टर्राइजीकै नाम छैन । जसले मेलम्चीको पानी ल्याउने कुरा गर्दा जसले हाँसोमा टुँडीखेलमा भाषण गर्थे अहिले उहाँहरूले हामीले ल्यायौँभन्दा काठमाडौंको जनताले पत्याउँछ कि पत्याउँदैन ? गम्भीर हुनुहोस् ।’
उनले भनेका छन्, ‘बजेट छैन । डीपीआर छैन शिलान्यास धमाधम । वाह रे विकास ? कागजको विकास । दुई वर्षदेखि मोटर चलिरहेको छ, गाडी कुदेको छ, कालोपत्रेको अहिले उद्घाटन ।’
‘दुई वर्ष अगाडिदेखि पुलमा गाडी तरिरहेको छ । अहिले बोर्ड लगाएर राजमार्गमा आमसभा, राजमार्गमा शिलान्यास । यो कस्तो खालको विकास हो ?’, कांग्रेसका प्रमुख सचेतक खाणले भनेका छन् ।
‘अल्पविकसित र विकसितमा पनि भुइँचालो नआएको भएदेखि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा भइसकेको हो । अहिले पूर्णता पाएको छ भने पनि जसको पालामा शुरुवात भएको छ त्यसलाई त स्मरण गरौँ । दिउँसै रात पार्ने काम नगरियोस् ।’
उनले भनेका छन्, ‘सरकारको हालत ऋण लिएर घीउ खानेछ । कोभिडका बेला राहत के देला झन् ? यो सफल सरकारले यति धेरै ऋण लिएको छ कि यति धेरै ऋण नेपालीको टाउकोमा कहिल्यै पनि थिएन ।’
‘उहाँलाई लागेको छ होला अब फर्किएर आइन्छ वा आइँदैन ? अहिले ऋण लिऔँ । तिर्ने बेला अरु आइहाल्छन् भन्ने हिसाबले लिनुभएको छ’, खाणले भनेका छन् ।
‘राजनीतिक नियुक्ति दिनदिन भएकै छन् । चालुखर्च बढेको छ । पुँजीगत बजेट घटेको छ । पुँजीगत खर्च घटेको छ भने विकास कसरी बढेको छ ?’, उनको प्रश्न छ ।
‘यो सरकार बन्दा अर्थ मन्त्री बडो उत्साहित भएर पूर्ववर्ती सरकारले ऋणै ऋणमा नेपाललाई पारेको थियो । हामीले सबैलाई घिउ खुवाउँछौँ भनेर जसरी स्वेतपत्र निकाल्नुभएको थियो नि ? त्यो स्वेतपत्रमाथि छलफल गर्नुपर्यो’, उनले भने, ‘त्यतिखेरको स्वेतपत्र र अहिलेको स्वेतपत्र पनि सरकारले जारी गरोस् । अहिले कस्तो छ देशको अवस्था ? देशका कर्मचारी, मजदुर, किसानको हालत कस्तो छ सबैले थाहा पाउनुपर्छ ।’
उनले भनेका छन्, ‘यो संसदीय व्यवस्थाका प्रति हाम्रो पूर्ण विश्वास छ । संसदीय व्यवस्थाले यहाँ सबैको प्रतिनिधित्व गराउँछ । सबैको पहिचान पनि गराउँछ । सबैको आवाज सदनमार्फत जनतामाझ पुर्याउँछ । यो व्यवस्था सफल बनाउन अन्तरमनबाट लागौँ । संविधानलाई पनि सफल बनाउने क्रममा मनबाट लागौँ ।’
उनले भने, ‘यो संविधानको बिकल्प छैन । संविधानसभाले बनाएको संविधान, जनताका जनप्रतिनिधि आएर हामीले संविधान बनाएका छौँ । यो संविधानको बिकल्प भनेको यही संविधान हो ।’
‘यो संविधानलाई बदल्छु, नेपालमा अधिनायकवाद ल्याउँछु, सर्वसत्तावाद ल्याउँछु, तानाशाह ल्याउँछु भन्ने नेताहरू, नेपाललाई तनाशाही ढंगले चलाउँछु भन्नेहरू, मेरो आफ्नो मानसपटलबाट निरंकुशताको दिशाबाट अगाडि बढ्छु भन्ने सबै नेताहरू असफल भएका छन् । त्यही बाटोमा अगाडि नबढ्नुहोस्’, कांग्रेसका प्रमुख सचेतक खाणले भनेका छन् ।
कांग्रेसका प्रमुख सचेतक खाणले सदनमा सम्बोधन गर्दै गर्दा ओली र ओलीको कम्युनिस्ट सरकारविरुद्ध एकएक विषयको झुठको पर्दाफास गर्दा सत्तारुढ कम्युनिस्ट सांसद र मन्त्रीहरू मलिन अनुहार लिएर बसेका थिए । खाणले ओलीले यसअघि सार्वजनिक रुपमा दिएका अभिव्यक्तिहरूको पहिलो पटक बलियो प्रमाण र आधारसहित खण्डन गरेर बालुवाटारलाई झस्काइदिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया