कांग्रेसले गुमायो लोकप्रिय नेता, देउवा र खाणद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोरङका पूर्व सभापति एवम् पूर्वसांसद अशोक शोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले बिहीबार शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं मेरा मित्र अशोक कोइरालाको निधनको खबरले निकै मर्माहत भएको छु ।’
‘उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नु भएको भूमिका सधैं प्रशंसनीय छ’, देउवाले भनेका छन् ।
‘उहाँको निधनबाट सिङ्गो नेपाली कांग्रेसले एक असल र निष्ठावान अग्रज व्यक्तित्वसँगै मोरङको भूगोलले एक सरल राजनीतिकर्मी गुमाएको छ’, सभापति देउवाले भनेका छन् ।
‘उहांले पुर्याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ’, देउवाले भनेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।’
उता, नेपाली कांग्रेस संसदीय दलले पनि कोइरालाको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले शोक वक्तव्य जारी गरेर कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
७७ वर्षीको उमेरमा कोइरालाको बिहीबार बिहान करीव १ बजे विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।
वि.स. २००४ साल विराटनगरमा जन्मिएका स्व. कोइरालाले नेपालमा भएका हरेक लोकतान्त्रिक आदोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
कोइरालाले प्रजातन्त्र एवम् लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय रहँदा करिब १ वर्ष भूमिगत र ७ वर्ष बन्दीजीवन व्यतित गरेका थिए ।
स्व. कोइराला २०४९ सालमा विराटनगर नगरपालिकाको मेयर पदमा र २०५८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।
०६२–६३ सालपछि पुनर्स्थापित संसदको सदस्य र २०७० सालमा संविधान सभा सदस्य भएका थिए ।
पार्टी संगठन, विस्तार र सुदृढीकरणमा सदैव सक्रिय रहँदै आएका कोइरालाको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको खाणले जनाएका छन् ।
कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेस पार्टीलाई दिएको अतुलनीय योगदान सबैका लागि अनुकरणीय र स्मरणीय रहने खाणले बताएका छन् ।
‘अशोक कोइरालाको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्र्दै आत्माको चीर शान्तिको कामनाका साथै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, खाणले शोक वक्तव्यमा भनेका छन् ।
‘दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ’, खाणले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया