देश चलाउ भनेर कम्युनिस्टहरू कांग्रेससामू लम्पसार परेः बस्नेत, बारामा कांग्रेसको नयाँ प्रयोग, देउवा सहभागी
बारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले देश अनिर्णयको बन्दी बन्छ भने कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताएका छन् ।
बारा जिल्लाको पचरौता नगरपालिकामा नेपाली कांग्रेस खेलकुद विभागद्वारा आयोजित ‘खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता’को उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै बस्नेतले दुईतिहाइको नजिक रहेका कम्युनिस्टले देश चलाउन नसकेर कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष देश चलाइदेउ भनेर लम्पसार परेको बताए । उनले कांग्रेसले नै देश चलाउने भए कम्युनिस्ट बिचौलियाहरूलाई भोट नदिन मतदाताहरूसँग अनुरोध गरेका छन् ।
‘दुईतिहाइको नजिक रहेको कम्युनिस्ट पार्टीको सरकारबाट जनता वाक्कदिक्क भएका छन् । भोलिका दिनमा चाँढोभन्दा चाँढो निर्वाचन गरेर कम्युनिस्टको कुशासन अन्त्य होस् भन्ने पक्षमा जनता छन्’, उनले भने, ‘हिजो यिनीहरूले जुन दृष्टीकोण, जुन बहुमतबाट कुशासन गरे । देशमा हिंसा, हत्या बलात्कारलाई बढी महत्व दिएका छन् ।’
‘भ्रष्टाचारको सीमा नाघ्यो । विभिन्न काण्ड गरेर देशमा ब्रम्हलुट गरी संविधानलाई धोका दिन थाले । संविधानलाई गलत तरिकाले प्रयोग गर्न थाले । संविधानको अपमान गर्न थाले’, उनले भने, ‘अपहरण गर्न थाले । हुँदाहुँद काम गर्न नसकेर दुईतिहाइको नजिकको सरकार अब हामीले चलाउन सकेनौँ । काम गर्न सकेनौँ भनेर प्रतिनिधि सभा भङ्ग गरे ।’
पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता बस्नेतले भने, ‘यो प्रतिनिधि सभा भङ्ग गर्नुपर्ने कुनै कारण थिएन । संविधानमा कुनै व्यवस्था नभएको विषय यिनीहरूले गरेका छन् । यसमा कुकुरले हड्डीका लागि लडाइँ गरे जस्तो मात्रै थियो । खान पाउने र नपाउनेको बीचमा, पद पाउने र नपाउनेका बीचमा र लुट्न पाउने र नपाउनेका बीचमा लडाइँ भयो ।’
‘जुन कुरा केपी ओलीजी आफैले भन्नुभएको छ । जुन कुरा माधव नेपालजीले आफै भन्नुभएको छ । जुन कुरा प्रचण्डजी आफैले भन्नुभएको छ’, बस्नेतले भने, ‘देश झण्डै–झण्डै दुर्घटनाको अवस्थामा पुगेको अवस्था छ ।’
‘अब पनि झन् संकट आएको हामीले महशुस गरेका छौँ’, बस्नेलते भनेका छन्, ‘हिजो कांग्रेसलाई यो देशमा अब हराइसक्यो, अब कांग्रेसलाई लाइब्रेरीमा खोज्न जानुपर्छ भन्नेहरू यो देशमा नेपालीहरूले दिएको जनमतको बलात्कार गरेरका छन्, जनमतमाथि अत्याचार गरेका छन्, जनमतको कदर नगरेर फेरि कांग्रेसका नेताहरूलाई, कांग्रेसका सभापति शेरबहादुर देउवालाई हामीले सरकार चलाउन सकेनौँ, हामीले जनताको काम, विकास, उन्नति, प्रगति गर्न सकेनौँ । हामीले सधैँ झुठ्ठा कुरा गर्यौँ । जुन कुरा हाम्रो आफ्नै लडाइँले देखाएको छ । शेरबहादुर देउवाज्यू तपाइँ प्रधानमन्त्री बनिदिनुस् । यो देश चलाइदिनुस् भनेर लम्पसार परेर पर्न गएकै हो ।’
उनले भने, ‘यो देशमा बिचौलियाहरूले ठगेर खाने गर्छन् । कम्युनिस्टका नेताहरूलाई भोट दिएर सरकार बनाउँदा सत्ता चलाउन सकेन भनेर कांग्रेसकै नेतालाई सरकार चलाइदेउ भन्न जान्छन् भने अब नेपाली जनताले कम्युनिस्टलाई किन भोट हाल्ने ? बिचौलियाहरूलाई किन भोट हाल्ने ? राजनीतिक विचौलिया किन पाल्ने अब ? कम्युनिस्ट बिचौलियाहरूलाई पाल्न जरुरी छैन ।’
‘लाखौँ लाख जनताहरूले कांग्रेस अलिअलि सुध्रियोस्, कांग्रेस सच्चियोस्, देश चलाउने, विकास गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्ने कांग्रेसले हो त्यस कारणले कांग्रेसलाई भोट हाल्छौँ भनेर लाखौँ लाख नेपाली जनताको हात उठिरहेको अवस्था छ’, नेता बस्नेतले भनेका छन् ।
उनले भनेका छन्, ‘कांग्रेसले कांग्रेसलाई भोट हाल्ने बानी बसाल्यौँ भने । कम्युनिस्टले गरेका गद्धारीलाई जनता माझमा लग्यौँ भने कांग्रेसलाई हराउने कसैको ताकत रहँदैन । कांग्रेस अब जाग्नुपर्छ ।’
नेता बस्नेतले कांग्रेस कमजोर हुँदा तराई मधेस कमजोर भएको बताएका छन् । ‘कांग्रेस कमजोर हुँदा जनता कमजोर भएका छन् । तराई मधेस कमजोर भएको छ’, उनले भने, ‘मधेस कांग्रेसको भोट बैंक मात्रै होइन । मधेस कांग्रेसको ब्लड बैंक हो ।’
उनले मधेसलाई कांग्रेसले विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘मधेस केन्द्रित दलका नेताहरू मन्त्री र उपप्रधानमन्त्री पद पाएपछि दौडिहाल्छन् । संविधान संशोधनको कुरा भुल्छन्’, उनले भने, ‘संविधान संशोधन गर्न कांग्रेसले प्रस्ताव ल्याएको हो । मधेसी दलका नेताहरूले मधेस जनतालाई भुलेका छन् ।’
नेता बस्नेतले भने, ‘कांग्रेस भएकै नाममा कुटिनुपर्ने, समस्या भोग्नुपर्ने अवस्था भयो भने खेलकुद विभागले बोल्नेछ । प्रजातन्त्रका पक्षमा अवाज बोल्दा कसैले धावा बोल्छ भने खेलकुद विभागले रक्षा कवच बनेर आउनेछ ।’
बारामा आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्त प्रतियोगिताको उद्घाटन गरेका छन् । हजारौँ नेता कार्यकर्ताको उपस्थितिमा देउवाले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कांग्रेस आफैले स्व.खुमबहादुर खड्काको नाममा गरेको अन्तर्राष्ट्रिय प्रतियोगिता पहिलो प्रयोग हो ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीसहितका नेताहरूको उपस्थिति रहेको थियो ।






बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया