कम्युनिस्ट असफल भइसके, कांग्रेस एक्लैले बहुमत ल्याउँछः डा.महत

धनगढी । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् ।

नेपाल मगर संघद्वारा आइतबार कैलालीको धनगढीमा आयोजना गरिएको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै डा.महतले कांग्रेसको उत्कृष्ठ सिद्धान्त र विचार भएकाले कांग्रेसले एक्लै बहुमत ल्याउने दाबी गरे ।

कम्युनिस्टको विचार असफल भइसकेकाले अब नेपालमा कहिल्यै कम्युनिस्टले चुनाव नजित्ने डा. महतले बताएका छन् ।

सह–महामन्त्री डा. महतले कांग्रेसले आफ्नो पालामा गरेका कामको प्रचार व्यापक बनाउनुपर्ने बताए । आफूले गरेको काम प्रचार गर्न नसक्दा कांग्रेस पछाडि परेको डा. महतले बताएका छन् ।

नेपालमा कम्युनिस्टको कुरा बिक्ने र कांग्रेसको काम नविक्ने अवस्था आएकाले कांग्रेसले प्रचार शैलीलाई बदल्नु पर्ने डा. महतले बताएका छन् ।

चिया पसल चौतारीमा गफ चुटेर देशमा समृद्धि र उन्नति नआउने भन्दै उनले कांग्रेसले काम गरेर देखाउने बताए ।

कम्युनिस्ट विचार भनेको अधिकारलाई थिचोमिचो बनाउने विचार भएकाले कम्युनिस्टलाई आगामी निर्वाचनबाट जनताले ठेगान लागाउने डा.महतले बताएका छन् ।

उनले ढिलोचाडो निर्वाचन हुने भएकाले कांग्रेसको विचार लिएर जनतामाझ जान र कम्युनिस्टका कर्तुतको प्रदर्फास गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘कांग्रेस निर्वाचन जितेर जनताको विश्वास लिएर सरकारमा जान्छ’, सह–महामन्त्री डा. महतले भने, ‘कांग्रेस हतारिएर सरकारमा जाँदैन । सहज तरिकाबाट सरकार बन्ने अवस्था आएमात्र मुलुकलाई निकास दिन कांग्रेसले सरकारको नेतृत्व लिनेछ ।’

उनले आउने निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँ युगको सूत्रपात गर्ने डा.महतले बताएका छन् ।

Published : Sunday, 2021 March 14, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया