अप्राकृतिक खेलमा कांग्रेस छैन, विनासर्त लोकतान्त्रिक शक्तिको मन जितेर नेतृत्व लिन्छौँः डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कांग्रेसले अंक गणितको अप्राकृतिक खेल गरेर सत्ताको नेतृत्व नगर्ने बताएका छन् ।

नेपाली कांग्रेसको महिला विभागले शनिबार ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले सहज र स्वभाविक प्रकृयाबाट कांग्रेसले सरकारको लिन तयार रहेको बताए ।

‘संसदको अंक गणितमा अनेकौँ अप्राकृतिक खेलहरू खेलेर, संख्या जोडेर जसरी पनि हुनुपर्छ भनेर नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्न चाहँदैन’, उनले भने, ‘सहज र स्वभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वलाई स्वीकार गरेर जानु आवश्यक्ता छ ।’

उनले भने, ‘विनासर्त लोकतन्त्रमा विश्वास गर्ने हामी सबै पार्टी छौँ भने ओली सरकारको बिकल्प खोज्नुपर्छ । सहज रुपमा बैकल्पिक सरकारको निर्माण हुने अवस्था आउँछ भने कांग्रेसले सरकारको नेतृत्व गर्ने गर्छ ।’

‘कांग्रेसले अनेकौँ तिकडम गरेर अप्राकृतिक किसिमबाट हामी सत्तामा पुग्यौँ भने उपयुक्त हुँदैन’, सह–महामन्त्री डा.महतले भने, ‘पौने दुई वर्ष पनि छैन । त्योभन्दा अगाडि निर्वाचन हुन पनि सक्छ । त्यसका लागि कांग्रेस तयार हुनुपर्छ ।’

उनले संसद पुनःस्थापनापछि पनि देशमा अन्यौलता रहेको बताएका छन् । ‘अहिले पनि ओलीको शासन छ । मनपरितन्त्र चलिरहेको छ । गफतन्त्र चलिरहेको छ । कुरा मात्रै गर्छन् । काम गर्दैनन् । अब यो गफतन्त्रलाई हामीले कसरी चिर्ने ?’, प्रश्न गर्दै उनले भने, ‘गफ होइन हामीलाई काम चाहिएको छ । मनोरञ्जन होइन काम चाहिएको छ । मनोरञ्जन कमेडियनहरूले गर्छन् । राजनीति राजनीतिज्ञले मनोरञ्जन दिने होइन ।’

उनले भने, ‘जनताको भलो, सेवा गर्ने कुरा गम्भीर विषय हो । जनताको काम गर्न इमान्दारिता चाहिन्छ भन्ने कुरा हामीले बुझाउनु पर्छ । हामीले गफ गर्छौं कि कामको आवश्यक्ता छ ? सत्तामा जाने पार्टीको काम मनोरञ्जन दिने होइन काम गर्ने हो ।’

‘अब आउने निर्वाचनमा हामीले निर्णायक रुपमा कम्युनिस्टलाई परास्त गर्न सक्नुपर्छ । त्यो अभियानमा नेपाली कांग्रेस जानुपर्छ’, उनले भनेका छन् ।

‘दुई सयभन्दा धेरै देशमा निर्वाचनबाट सरकार बन्छ । नेपालमात्रै यस्तो देश हो निर्वाचनबाट कम्युनिस्टले जितेका छन्’, उनले भने, ‘कम्युनिस्टले कतै जित्दैनन् । त्यहाँका जनताले कम्युनिस्टलाई उहिल्यै बुझी सकेका छन् ।’

‘कम्युनिस्ट शासन सत्ताबाट जनताको भलो हुँदैन । कुरा ठूलो गर्छन् । हुने नहुने गर्छन् । काम गर्दैनन् भन्ने कुरा चाहिँ विश्वले बुझिसकेका छन् । नेपालमा हामीले बुझाउन सकेका छैनौँ’, डा.महतले भनेका छन् ।

‘कम्युनिस्टले प्रचारबाट जनतालाई भ्रममा पार्छन् । त्यसलाई कण्ठ बनाएका छन्’, उनले भने, ‘हरेक ठाउँबाट प्रचार गर्छन् । गर्दै नगरेको कुरालाई कम्युनिस्टले गरेको भनेर प्रचार गर्छन् । हामीले काम गरेको कुरालाई पनि प्रचार गर्दैनौँ ।’

डा.महतले महिलाहरूलाई संविधानले नै ३३ प्रतिशत अधिकार दिएको भन्दै त्योभन्दा धेरै लिनका लागि प्रतिस्पर्धामा उत्रिन सुझाव दिएका छन् ।

‘अमेरिकाको सिनेटमा महिलाको संख्या १२ प्रतिशतभन्दा धेरै छैन । युरोपका धेरै देशमा सहभागिता छैन । दक्षिण एशियामा छदै छैन । भारतमा एकतिहाइको कुरा गरिएको धेरै वर्ष भइसक्यो । बेलाबेला भारतमा कुरा उठ्छ फेरि सेलाउँछ’, उनले भने, ‘नेपालले प्रारम्भ गरेको दक्षिण एशियामा पहिलो देश हो । एकतिहाइ संविधानले नै दिनै पर्ने, खोस्नै नपाइने व्यवस्था छ ।’

उनले भने, ‘दिदी बहिनीहरूले हामीले ५१ प्रतिशत छौँ, कहाँ ३३ प्रतिशत हुन्छ भन्नुभयो । यो ३३ प्रतिशत भनेको आरक्षण हो दिनै पर्ने । कसैले खोस्नै नपाउने । पुरुषहरूलाई एक प्रतिशत पनि आरक्षण छैन ।’

‘भोलिको दिनमा तपाईहरू ५१ प्रतिशतको किन कुरा गरिरहनु भएको छ ? हिजो पुरुषले ९५ प्रतिशत ओगटे । शतप्रतिशत नै पुरुषहरूले शासन गरे’, उनले भने, ‘महिलाहरू ५१ प्रतिशतमा सीमित हुनुपर्ने के आवश्यक्ता ? हिजोका दिनमा पुरुषले ९५ प्रतिशतमा हालीमुहाली गरेका थिए भने महिलाहरूले सबैको विश्वास जितेर ५१ प्रतिशत होइन ९० प्रतिशत लिने लक्ष्य लिन सकिन्छ ।’

‘यो दिन ढिलो चाँढो आउँछ । एकतिहाइ कसैले खोस्नै नसक्ने व्यवस्था हो । कांग्रेसले महिलालाई एकतिहाइ दिएको छ । पहिलो पार्टी हो । कम्युनिस्टले यो काम गरेको छैन’, उनले भने, ‘हामी ठीक ठाउँमा छौँ । यो अभियान पछाडि फर्किदैन । अगाडि नै जान्छ । गर्वका साथ महिला दिदीबहिनीहरू जनताको बीचमा जानुपर्छ । हाम्रो पक्षमा जनमत आउँछ ।’

Published : Saturday, 2021 March 13, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया