बाठो भएर ओलीको पछाडि लाग्दा माओवादी मन्त्रीहरूलाई तनाब, कारबाही हुने पक्का

काठमाडौं । नेकपा (माओवादी) केन्द्रले खड्गप्रसाद ओली नेतृत्वको सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ ।

काठमाडौंको कोटेश्वरस्थित पार्टी मुख्यालयमा शनिबार बिहान बसेको स्थायी कमिटीको बैठकले आफ्ना मन्त्रीहरूलाई तत्काल फिर्ता आउन निर्देशन दिएको हो ।

ओली नेतृत्वको सरकारमा माओवादीको तर्फबाट सहभागी भएका मन्त्रीहरूलाई २४ घण्टाभित्र फिर्ता आउन निर्देशन दिएको माओवादीले जनाएको छ ।

एमालेले केन्द्रीय सदस्य बनाएका माओवादीका २३ जना नेताहरूलाई पार्टी परित्याग गरेको हो कि होइन भन्नेबारे निर्णय दिन २४ घण्टे जवाफ माग गरिएको छ । २४ घण्टाभित्र लिखित जवाफ दिन माओवादीले आदेश दिएको छ ।

माओवादीको तर्फबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन् ।

उनीहरू पार्टीमा नफर्किएर एमालेतिर लागेका छन् । उनीहरूलाई ओलीले एमालेको केन्द्रीय सदस्यसहितका जिम्मेवारी समेत दिइसकेका छन् ।

तत्कालीन नेकपामा विवाद हुँदा उनीहरू ओलीतिर लागेका हुन् । त्यतिबेला ओलीलाई सहयोग गर्दा मणि थापा, प्रभु साह र दावा लामाले मन्त्री बन्ने मौका पाएका थिए । उनीहरूले राजीनामा नदिए कारबाही गर्ने तयारी माओवादीले गरेको छ ।

यसैबीच, बैठकले चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला स्थगित गरेको छ ।

Published : Saturday, 2021 March 13, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया