देउवाले भनेको अधिनायकवाद एमालेभित्र ओलीले बल्ल लगाए

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद ओलीले सबैलाई मिलाएर लैजानुपर्नेमा वरिष्ठ नेता माधव नेपाल समूहलाई एक्ल्याउने गरेर विभिन्न निर्णयहरू गरेका छन् ।

शुक्रबार आफू निकटका नेताहरूको मात्रै बालुवाटारमा बैठक राखेर ओलीले नेपाल समूहलाई पार्टीभित्र बस्न असहज हुने गरेर बडेमानका निर्णयहरू गरेका हुन् । ओलीको यो निर्णयले नेपाल समूहलाई ठूलो धक्का लागेको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँत्याइएपछि पहिलो पटक आइतबार एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । केन्द्रीय कमिटीको बैठक बस्नुभन्दा एक हप्ता अगाडि ओलीले विरोधीहरूलाई ठेगान लगाउने निर्णयहरू गरेका हुन् ।

ओलीले महाधिवेशनको मिति तोक्ने देखि आफू निकटका नेताहरूलाई जिम्मेवारी तोक्नेसम्मका निर्णय गरेका छन् ।

ओलीले माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापासहितका नेताहरूलाई आकर्षक जिम्मेवारी दिएका छन् । ओलीले थापालाई बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारी दिएका छन् ।

ओलीले थापासहितका २३ जना माओवादीबाट आएका नेताहरूलाई एमालेको केन्द्रीय कमिटीमा मनोनीत गरेका छन् । माओवादीबाट मनोनीत हुनेमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने रहेका छन् ।

दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा, चन्द्रबहादुर खड्का केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

ओलीले सात वटा प्रदेशका इञ्चार्ज र सह–इञ्चार्ज पनि तोकिएका छन् ।

ओलीले प्रदेश १ को इञ्चार्ज सुवासचन्द्र नेम्वाङलाई बनाएका छन् । अध्यक्षको जिम्मेवारी देवराज घिमिरे र सचिवको जिम्मेवारी विनोद ढकाललाई दिएका छन् ।

प्रदेश २ मा इञ्चार्जको जिम्मेवारी सत्यनारायण मण्डललाई दिइएको छ । अध्यक्षमा प्रभु साह र सचिवको जिम्मेवारी सुमन प्याकुरेललाई दिइएको छ ।

बागमती प्रदेशको इञ्चार्जमा रामबहादुर थापा, अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहनीलाई नियुक्त गरिएको छ ।

गण्डकी प्रदेशको इञ्चार्जमा पृथ्वीसुब्बा गुरुङ, अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपालीलाई तोकिएको छ ।

लुम्बिनी प्रदेशको इञ्चार्जमा शंकर पोखरेल, अध्यक्षमा लीला गिरी र सचिवमा खेममान खड्कालाई जिम्मेवारी दिइएको छ ।

कर्णाली प्रदेशको इञ्चार्जमा यमलाल कँडेल, अध्यक्षमा गुलाबजंग शाह र सचिवमा धर्मराज रेग्मीलाई जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिम प्रदेशमा इञ्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्रसिंह रावललाई जिम्मेवारी तोकिएको छ ।

स्कुल विभागलाई ओली आफैले राखेका छन् । विष्णु पौडेललाई संगठन विभागको प्रमुख बनाइएको छ ।

विदेश विभागको प्रमुखमा डा.राजन भट्टराईलाई नियुक्त गरिएको छ । सम्पर्क कमिटी र कोष तथा आर्थिक विभागको प्रमुखमा छविलाल विश्वकर्मालाई नियुक्त गरिएको छ ।

संसदीय विभागको प्रमुखमा सुवासचन्द्र नेम्वाङ र निर्वाचन विभागको प्रमुखमा विष्णु रिमाललाई तोकिएको छ ।

प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई ओलीले दिएका छन् । ओलीले स्कूल विभाग प्रमुखको जिम्मेवारी आफैले राखेका छन् ।

अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीका सबै पद खारेज गरिदिएका छन् । ओलीले नेता नेपाल समूहका पदाधिकारीहरूको पद खोसेर केन्द्रीय सदस्यमा घटुवा गरिदिएका छन् ।

ओलीले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने जानकारी गराएका छन् ।

एमालेको अर्को बैठक चैत ७ गते बस्नेछ । शुक्रबारको बैठकमा माधव नेपाल समूह आएका थिएनन् । पार्टीको निर्णयका बारेमा जानकारी दिन ओलीले महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएका छन् ।

ओलीले एमालेको १०औँ महाधिवेशन ०७८ सालको मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेका छन् ।

माओवादीसँग एकता गर्दा मनोनीत भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।

निर्वाचनका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टले जिते भने ‘रुन पनि पाइन्न, हाँस्न पनि पाइन्न, कम्युनिस्ट अधिनायकवाद लागू हुन्छ’ भनेका थिए ।

देउवाले भनेको त्यो अभिव्यक्ति शुक्रबारदेखि एमालेभन्ने पार्टीभित्र ओलीले आफ्ना विरोधी समूह अर्थात वरिष्ठ नेता नेपाल पक्षलाई सिध्याउन लागू गरेका छन् ।

Published : Friday, 2021 March 12, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया