ओलीलाई ‘टक्कर’ दिने शक्ति बाहिर आयो, यस्ता छन् ओलीलाई सिध्याउने रणनीतिहरू

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खड्गप्रसाद ओली प्रवृत्तिका विरुद्ध आफूले संघर्ष गरेको बताएका छन् ।

पार्टी निकटको नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै दाहालले ओलीलाई प्रतिक्रियावादीको आरोप लगाए । उनले आफ्नो धरातलमा रहेर संघर्ष गर्ने बताएका छन् ।

‘काठमाडौंमा भन्दा अभियानमा गएर जनताको बीचमा बस्ने बिचार छ । प्रतिक्रियावादी शक्तिले देशभित्र र बाहिरकाले निकै ठूलो षड्यन्त्र हाम्रोविरुद्ध र राष्ट्रका विरुद्ध, हाम्रो आन्दोलनका विरुद्ध, उपलब्धीमाथि धावा बोल्ने कोशिस गरेका छन्’, उनले भनेका छन्, ‘त्यसलाई परास्त गर्नुछ । मलाई विश्वास छ हामीले परास्त गर्छौं ।’

उनले भने, ‘हामीले आफ्नै धर्तीमा टेकेर मात्रै परास्त गर्न सकिन्छ । हामी आफ्नै शक्तिमा भर परेर परेर मात्रै परास्त गर्न सकिन्छ । हामी सबै शहर बजार, टोल, गल्ली र गाउँघर सबैतिर एकचोटी अभियान चलायौँ भने जित्नेछौँ । अहिले युद्ध गर्नुपर्ने स्थिति छैन ।’

‘हामी आफ्नै खुट्टमा उभिएर जनतासँग जोडियौँ भने प्रतिक्रियावादीहरू परास्त हुन्छन् । हामीले जित्छौँ । हामीले जित्नै पर्छ’, अध्यक्ष दाहालले भनेका छन् ।

‘एकचोटी कोर्ष करेक्सन गरेर अवसरवाद र प्रतिक्रियावादविरुद्ध लड्न अगाडि बढ्नुपर्छ भन्ने संकल्प मैले लिएको छु’, उनले भने, ‘जनयुद्ध गर्दा ४२–४३ वर्षको थिएँ । अहिले ६७ वर्षको भएँ । उमेरले कति दिन्छ ? भनेर पनि कतिपयले भन्छन् । अब उमेर भएकाले छोडिदिनुपर्छ भन्छन् ।’

‘म छोड्नेवाला छैन । माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटी क्रान्ति अगाडि जानेमा छु’, दाहालले भने, ‘यो कुरामा विश्वस्त रहनु होला । म छोड्नेवाला चाहिँ छैन । म लड्नेवाला नै छु ।’

‘म अहिले पनि लडेँ । एउटा ब्याटल लडेँ । त्यो ब्याटल जित्यौँ पनि । अरु दुई चार वटा ब्याटल जित्न बाँकी छ । हामीले जित्नै पर्छ’, अध्यक्ष दाहालले ओलीलाई चेतावनी शैलीमा सचेत गराएका छन् ।

‘केपी प्रवृत्तिका विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दै गर्दा मैले साँच्चै नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभूति मलाई भएकै थियो र भएकै छ’, उनले भनेका छन् ।

‘त्यसले चिनियाँ आन्दोलनमा बमबार द हेडक्वाटर भन्ने हिजो हामी सबैले पढ्थ्यौँ नि ? बुर्जुवा हेडक्वाटरमा बम वर्षाउ । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी, षड्यन्त्रकारी लिडरसिपमाथि बम वर्षाउ भनेको हो’, उनले भने, ‘मैले केपी प्रवृृत्तिका विरुद्ध जानीबुझी योसँग अब सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि म अब फेरि जेल जान परे पनि तयार, मर्न पनि तयार । तर, यो प्रवृत्तिमाथि प्रहार गर्नै पर्छ भनेर गरेको हो ।’

माओवादीका अध्यक्ष दाहालले भनेका छन्, ‘अहिले शान्तिमार्फत हामीले युद्ध गरेको हो । प्रतिक्रियावादी विचार र प्रवृत्तिका विरुद्ध, दक्षिणपन्थका विरुद्ध फेरि एउटा नयाँ युद्ध गरेकै हो । त्यो युद्ध अहिले चलिरहेको छ ।’

‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षड्यन्त्रका देशव्यपाी अभियान चलायौँ । त्यो ब्याटल त जित्यौँ । हामीले वार जितेका छैनौँ’, उनले भने, ‘अझै पनि ठूला–ठूला षड्यन्त्र भइरहेका छन् । तपाई हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइनै रहेको छ ।’

उनले भने, ‘हामी सबै सजक भएर फेरि एकचोटी आफ्नै खुट्टमा उभिएर, योसँग मिलेर होला कि, त्योसँग मिलेर होला कि, यो गरे होलाकी, त्यो गरे होला कि, भनेर धेरै गरियो ।’

‘आफ्नै साथीहरू छुट्दा, आफ्नै धरात कमजोर हुँदा हामी अलिक कमजोर भएको देखिएको पक्कै पनि हो’, उनले आफ्नो कमजोरी स्वीकार गरेका छन् ।

‘अहिले हामी आफ्नो धर्तीसँग जोडिने, आफ्नै खुट्टमा उभिने, आफ्नै पुराना साथीहरूलाई एकतावद्ध गर्ने । सबै क्रान्तिकारीहरूमाथि नै भरपर्नु, क्रान्तिकारी विचार र क्रान्तिकारी साथीहरूमाथि नै भर परेर मात्रै यो लडाइँ जित्छौँ भन्ने विश्वासले नै मैले नयाँ जनयुद्ध शुरु गरेको पनि हो’, दाहालले भनेका छन् ।

‘हिंसामा जाने कुरा त्यहाँ गरेको छैन । अहिले त्यो परिस्थिति पनि होइन । युद्ध भनेको हिंसासहितको राजनीति हो’, अध्यक्ष दाहालले भनेका छन्, ‘युद्धमा पनि हामीले गरेको राजनीति थियो ।’

माओवादी अध्यक्ष दाहालले ओलीबाट निकै चित्त दुःखेको र आगामी दिनमा ओलीलाई सिध्याएरै छाड्ने चेतावनी दिएका छन् । त्यसका लागि दाहालले नेपाली कांग्रेससहितका शक्तिसँग मिलेर जाने संकेत पनि गरेका छन् ।

Published : Thursday, 2021 March 11, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया