सूर्य थापाका कार्यकर्ता कांग्रेसमा प्रवेश, प्यूठानबाट कम्युनिस्टको बीउ भुट्ने घोषणा

स्वर्गद्वारी । नेपाली कांग्रेसका नेताहरूले प्यूठानसहित देशभरि कम्युनिस्टले ढाँटेर निर्वाचन जितेको प्रशंग कोट्याउँदै अबको निर्वाचनमा कम्युनिस्टलाई उठ्न नसक्ने गरेर जनताले पराजित गर्नुपर्ने बताएका छन् ।

प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा नेपाली कांग्रेसले बिहीबार आयोजना गरेको पार्टीका नेताहरूसँगको भेटघाट कार्यक्रममा नेताहरूले कम्युनिस्टको झुठको भुमरीबाट जनतालाई माथि उठाउनुपर्ने बताएका हुन् ।

कांग्रेस नेताहरूले कार्यकर्तामा उत्साह ल्याउनुपर्ने बताएका छन् । त्यसका लागि नयाँ किसिमका कार्यक्रम गर्नुका साथै जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर विकास निर्माण, स्वास्थ्य, शिक्षा, रोजगारीमा सहयोग गर्नुपर्ने स्थानीय नेताहरूले सुझाव दिएको कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जानकारी दिए ।

‘कम्युनिस्ट भनेर चिनिने प्यूठानमा कांग्रेसलाई बलियो बनाउनुपर्छ’, भेलामा कांग्रेस नेताहरूले भनेका छन्, ‘कम्युनिस्टले प्यूठानमा त ढाँटेढाँटे देशलाई नै ढाँटे ।’

‘कम्युनिस्टबाट देश चलाउन सम्भव छैन’, नेताहरूले भनेका छन्, ‘आगामी दिनमा प्यूठानलाई कम्युनिस्टबाट मुक्त गराउनुपर्छ ।’

कार्यकर्ता भेलामा प्यूठान कांग्रेसका अम्मर भण्डारी, केन्द्रीय सदस्य बद्री पाण्डे, पूर्वसांसद रामहरि खतिवडा, नेताहरू डा.गोविन्द पोखरेल, राजु नेपाल, पूर्वसभापति सुवास केसी, उप–सभापति बद्री लम्साल, क्षेत्रीय सभापति टेकप्रसाद भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्यूठानबाटै कम्युनिस्टहरूको जन्म भएको थियो । मोहनविक्रम सिंह, मोहन वैद्य जस्ता नेताहरू प्यूठानकै हुन् । उनीहरूले नै कम्युनिस्टको ब्यु रोपेका थिए ।

कम्युनिस्टको किल्ला भनिए पनि कम्युनिस्ट सरकारमा हुँदा पनि प्यूठान जिल्लामा विकास हुन सकेको छैन । विकासका कार्यक्रमहरू नेपाली कांग्रेसले ल्याइदिनु परेको भन्दै नेताहरूले अबको निर्वाचनमा कांग्रेसलाई जिताउन अनुरोध गरेका छन् ।

कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले र माओवादीका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका थिए ।

कम्युनिस्टहरूको व्यक्तिवादी चरित्रबाट दिक्क भएर आफूहरू कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले बताएका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रेस सल्लाहकार सूर्य थापाको गृहजिल्ला प्यूठानमा एमाले नेताहरूको हर्कतबाट हैरान भएर कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूको भनाइ छ ।

Published : Thursday, 2021 March 11, 4:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया