कांग्रेसको विवाद मिलाउन चौधरी डोल्पामा, राप्रपालाई मिसाउने, सभापतिबाट असहयोग
डोल्पा । नेपाली कांग्रेस डोल्पाका सभापति अंगद बुढाले पार्टीमा देखिएका समस्या समाधानमा चासो नदिँदा कांग्रेस निकै कमजोर भएको रहस्य बाहिर आएको छ ।
क्रियाशील सदस्य वितरणमा समस्या देखिएपछि विवाद समाधान गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता विवाद समाधान समितिका सदस्य योगेन्द्र चौधरी डोल्पा आएका छन् । चौधरी आउने कुरा डोल्पा कांग्रेसका सभापति अंगद बुढालाई पहिलानै पत्र आइसकेको थियो । केन्द्रबाट पत्र आउँदा पनि सभापति अंगद ढकालले तयारी गर्नुपर्नेमा कुनै तयारी नगरेर बसेका छन् ।
चौधरीले पार्टी सभापति अंगद बुढालाई बुधबार फोन गरेर छलफलका लागि बोलाएका थिए । सभापति अंगद बुढाले बिहीबार आउने बचन केन्द्रीय सदस्य चौधरीलाई दिएका थिए । बिहीबार सभापति बुढा तोकिएको समयमा नआएपछि केन्द्रीय सदस्य चौधरीले पुनः फोन गरेका थिए । सभापति बुढा मोबाइल फोन अफ गरेर बेपत्ता भएका छन् ।
अंगद बुढा डोल्पा कांग्रेसको सभापतिमा निर्वाचित भएपछि जम्मा दुई पटक मात्रै जिल्ला कार्यसमितिको बैठक बसालेका छन् । डोल्पा कांग्रेसको सिङ्गो कार्यसमिति सभापति बुढाको हर्कत र पार्टी संगठन विपरितका क्रियाकलापविरुद्ध छ । सोही कारण सभापति बुढाले काम गर्न सकेका छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सह–महामन्त्री कर्णबहादुर बुढासहित सिङ्गो पार्टीनै कांग्रेसमा प्रवेश गरेपछि डोल्पामा नेपाली कांग्रेस बलियो बनेर आएको छ ।
राप्रपालाई कांग्रेसमा समायोजन गर्नुपर्ने चुनौती छ । सभापति बुढाले राप्रपालाई उचित स्थान दिएर समायोजन गर्नुपर्ने थियो । तर, सभापति अंगद बुढाले बेवास्ता गरेपछि विवाद उत्पन्न भएको थियो ।
सभापति अंगद बुढाका कारण नेपाली कांग्रेस डोल्पामा निकै कमजोर अवस्थामा छ । राप्रपाको टिमलाई समायोजन गरेर जाने हो भने प्रतिनिधि सभा, प्रदेश र स्थानीय तहमा कांग्रेसले अधिकांश स्थानमा जितेर जाने सम्भावना रहेको केन्द्रीय सदस्य चौधरीले बताएका छन् । चौधरीले राप्रपाको टिमलाई समायोजन गर्ने हो भने डोल्पामा कम्युनिस्टले कांग्रेसलाई जित्न नसक्ने बताए ।
राप्रपाबाट कांग्रेसमा आएको समूहले ५ सय क्रियाशील सदस्यता माग गरेको छ । नेपाली कांग्रेस डोल्पाका सभापति अंगद बुढाबाहेक सिङ्गो डोल्पा कांग्रेसका नेताहरू राप्रपालाई समायोजन गरेर माग गरेअनुसार क्रियाशील सदस्यता दिन तयार छन् ।
‘राप्रपाका सह–महमन्त्री कर्णबहादुर बुढाको समूहले समायोजनमा राप्रपालाई ५ सय क्रियाशील सस्यता माग गरेका छन्’, केन्द्रीय सदस्य चौधरीले भने, ‘पार्टी सभापति अंगद बुढालाई फोन गरेर छलफलका लागि बोलाएको छु । सभापतिज्यूले बुधबार फोनमा आउँछु भन्नुभयो । आज बिहीबार फोन अफ गरेर बस्नुभएको छ । यस्तो अवस्थामा कसरी विवाद समाधान गर्ने भन्नेमा प्राविधिक समस्या आएको छ ।’
सभापति अंगद बुढाले गरेको व्यवहारका विषयमा केन्द्रीय सदस्य चौधरीले केन्द्रीय नेतृत्वलाई जानकारी गराएका छन् । केन्द्रीय नेतृत्वले दुबै पक्षलाई राखेर विवाद समाधान गरेर मिलाउन सुझाव दिएको चौधरीले बताए ।
राप्रपाको केन्द्रीय सह–महामन्त्री छाडेर कांग्रेसमा प्रवेश गरेका कर्णबहादुर बुढाका कारण डोल्पा कांग्रेसमा नयाँ जीवन र सञ्जीवनी बुटी प्राप्त भएको केन्द्रीय सदस्य चौधरीले बताएका छन् ।
डोल्पा कांग्रेसका उप–सभापतिसहितको जिल्ला कार्यसमिति कांग्रेसलाई कसरी बलियो बनाउन सकिन्छ भनेर चिन्तित रहेको आफूले पाएको चौधरीले बताए ।
डोल्पा कांग्रेसका सभापति अंगद बुढाको समन्वयकारी भूमिका नभएको केन्द्रीय सदस्य चौधरीले बताएका छन् । सभापति बुढाको विषयमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला जानकारी छन् ।
डोल्पा कांग्रेसका सभापति अंगद बुढा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानी निकट मानिन्छन् । केन्द्रीय सदस्य थानी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । वरिष्ठ नेता पौडेलले पनि डोल्पा कांग्रेसको विवाद समाधान गर्न पहिलादेखिनै लागेका थिए । सभापति अंगद बुढाका कारण विवाद समाधान हुन सकेको छैन ।
यसैबीच, डोल्पा कांग्रेसले केन्द्रीय सदस्य चौधरीलाई स्वागत गर्नुका साथै क्रियाशील सदस्यताको विवाद र राप्रपालाई समायोजन गर्न अनुरोध गरेको छ । केन्द्रीय सदस्य चौधरीले पनि आफूलाई केन्द्रले विवाद मिलाउन खटाएको भन्दै विवाद समाधान गरेर जाने आश्वासन दिएका छन् ।




बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया