देउवाको जवाफ सुनेपछि प्रचण्ड मलिन भए, यसरी बच्यो कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको छ ।
कांग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठमा मंगलबार भएको भेटवार्तामा प्रधानमन्त्री खड्प्रसाद ओलीको कदम र भावी रणनीतिका विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।
दाहालले देउवासँग कांग्रेस, माओवादी र जसपा मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर अगाडि बढ्न प्रस्ताव गरेका थिए ।
तर, सभापति देउवाले दाहालको प्रस्तावलाई सिधै अस्वीकार गरिदिएका छन् । देउवाले माओवादीको स्थायी समितिको निर्णय र पछिल्ला गतिविधिमाथि प्रश्न समेत उठाएको कांग्रेसका एक नेताले बताएका छन् ।
माओवादीका अध्यक्ष दाहाललाई कांग्रेसका सभापति देउवाले दिएको जवाफ उदृत गर्दै स्रोतले भन्यो, ‘ओलीलाई दिएको समर्थन फिर्ता लिनुभएको छैन । अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको छैन् । तपाईहरूलाई कसरी विश्वास गर्ने ? त्यसमाथी एमालेसँग नि वार्ता गर्ने निर्णय गरेर आउनु भएको छ ।’
देउवाले दाहाललाई पहिला आफ्नो पार्टीको स्थिति प्रष्ट पारेर आउन सुझाव दिएका छन् । यी विषयमा माओवादी स्पष्ट भएपछि मात्रै थप कुरा गर्ने जवाफ देउवाले दाहाललाई दिएको कांग्रेसका ती नेताले बताएका छन् ।
देउवाको कुरा र जवाफ सुनेपछि दाहाल निरास देखिएका थिए ।
देउवासँग भेटेपछि दाहाल पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई भेट्न गएको चर्चा छ । भट्टराई स्वास्थ्यको कारण देखाउँदै जसपाको मंगलबारको बैठकमा गएका थिएनन् ।
उता, प्रधानमन्त्री ओलीले जसपालाई साथमा लिएर सरकार बनाउने तयारीमा लागेका छन् । ओलीले वार्ता टोलीनै गठन गरेर जसपाका नेताहरूसँग मंगलबार वार्ता भएको छ । एमाले र जसपाबीचको वार्ता सकारात्मक भएको नेताहरूले बताएका छन् ।
जसपाले संविधान संशोधन, प्रहरीको सामूहिक हत्या अभियोगमा सजाय काटिरहेका रेशमलाल चौधरीको रिहाइलगायतका माग राखेको चर्चा छ ।
ओलीले जसपालाई प्रतिनिधि सभाको उप–सभामुख दिने आश्वासन दिएको स्रोतले जनाएको छ । ओलीले जसपाकी सांसद चन्दा चौधरीलाई बनाउन समेत प्रस्ताव गरेको चर्चा छ । चौधरी भारतीय चेली हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया