प्रधानमन्त्री बर्बराउन थालेको भन्दै विश्वप्रकाशले हैसियत सम्झाइदिए
काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरेर ओलीमा अधिनायक आकांक्षा उजागर भएर आएको जनाएका छन् ।
‘फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार हो’, शर्माले भनेका छन् ।
‘प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि रंग र स्वरुपको अधिनायकवादविरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरूको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ ।’
शर्माले भनेका छन्, ‘सर्वोच्च अदालतमा भई रहेको बहसलाई ‘तमासा’को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न हो ।’
‘सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो’, कांग्रेसका प्रवक्ता शर्माले भने, ‘आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरूलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको बर्बराहट हो ।’
प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेको उनले बताएका छन् ।
‘आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ’, उनले भनेका छन् ।
‘उहाँको यो प्रवृत्ति दुःखद् मात्रै होइन, लज्जास्पद पनि छ’, उनले भनेका छन्, ‘संसद विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरूलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।’
प्रधानमन्त्री ओलीले आफ्ना सार्वजनिक अभिव्यक्तिका क्रममा न्यायालय, वरिष्ठ अधिवक्ता र आफ्नो विरोधीहरूविरुद्ध जथाभावी बोल्न थालेपछि कांग्रेसले विज्ञप्ति जारी गरेर आक्रोश पोखेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया