भारतद्वारा नेपाललाई कोरोनाविरुद्ध प्रयोग हुने रेमडेसिभिर औषधि प्रदान

काठमाडौं । भारतले नेपालाई कोरोनाविरुद्धको उपचारमा प्रयोग हुँदै आएको रेमडेसिभिर औषधि निःशुल्क उपलब्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दुई हजार भाइल रेमडेसिभिर औषधि हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधि हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारतले वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधि दिएको थियो ।

जेठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र साउन २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ ।

निकटतम मित्र तथा छिमेकीको हैसियतले यस महामारीविरुद्धको लडाइँमा नेपाल सरकार र नेपाली जनताको साथमा भारत रहेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरूको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधि मानिएको छ ।

चिकित्सा अध्ययनका अनुसार यो औषधिको प्रयोगले बिरामीहरूको अस्पताल बसाइँ अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्‍याउँछ ।

Published : Tuesday, 2020 September 15, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया