विनोद चौधरीको होटेलमा देउवा–डा.कोइरालाबीच वार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डा.शशांक कोइरालाबीच १४औँ महाधिवेशनलाई लिएर ललितपुरको पाँचतारे होटेलमा गोप्य वार्ता भएको छ ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद एवम् उद्योगी विनोद चौधरीको झम्सीखेलस्थित होटेलमा देउवा र डा.कोइरालाबीच केही हप्ता अगाडि वार्ता भएको हो । सो वार्तामा महाधिवेशनमा कसरी जाने भन्ने विषयमा परामर्श भएको उच्च स्रोतले जनाएको छ ।

महामन्त्री डा.कोइरालाको तर्फबाट केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

सभापति देउवाको तर्फबाट बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता तथा मकवानपुर कांग्रेसका सभापति ईन्द्र बानियाँ, व्यापारी एवम् सांसद उमेश श्रेष्ठलगायतको उपस्थिति रहेको उच्च स्रोतले जनाएको छ ।

१४औँ महाविधेशनलाई लिएर विभिन्न खालका अड्कलबाजी र समीकरणहरूका विषयमा परामर्शहरू भइरहेका बेला सभापति देउवा र महामन्त्री डा.कोइरालाबीच सम्वाद भएको छ । यो गोप्य सम्वादलाई लिएर कांग्रेसभित्र हलचल भएको छ ।

सोही वार्तापछि महामन्त्री डा.कोइरालाले ‘सभापति देउवालाई रामचन्द्रजीले हराउन सक्नु हुँदैन, मैले मात्रै जित्न सक्छु’ भनेर अन्तर्वार्ता दिएका थिए ।

Published : Tuesday, 2020 September 1, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया