कांग्रेसभित्र पौडेल–कोइरालाको नौटंकी देखेर अधिनायकवादी कम्युनिस्टहरू चकित परे

काठमाडौं । कोरोना महामारीका बेला झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारलाई दवाव दिने बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यदल बनाएर पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध आन्दोलनको गृहकार्य गरेका छन् ।

बद्री पाण्डे, गुरु घिमिरे र जीवन परियार सदस्य रहेको कार्यदल बनाएर पौडेलले आन्दोलनका गृहकार्य गरेका हुन् । तीन सदस्यीय कार्यदलले छ चरणको आन्दोलनको मस्यौदा तयार पारेको स्रोतले जनाएको छ ।

आन्दोलनकै क्रममा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिनेसम्मका कार्यक्रम राखेको एक नेताले बताए ।

सभापति देउवाले विधि, विधान र पद्धतिबाहिर गएर आफूअनुकूलका निर्णय गरेको विरोधमा पौडेल समूहले आन्दोलनको तयारी गरेको हो ।

पौडेल समूहको बिहीबारको जुम बैठकले तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले ६ चरणका आन्दोलनका कार्यक्रम तयार पारेको छ । पौडेल समूहको संघर्षको कार्यक्रमअनुसार आमरण अनशन पनि गरिनेछ ।

सभापति देउवालाई गलत निर्णय सच्याउन तीन दिनको अल्टिमेटम दिने, कुनै प्रतिक्रिया नदिए पौडेल समूहका केन्द्रीय पदािधकारी, सदस्य, सांसद, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थासँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको स्रोतले जनाएको छ ।

देउवाविरुद्ध पत्रकार सम्मेलन गर्ने, जिल्ला तथा केन्द्रीय कार्यालयमा धर्ना दिने दिने, जिल्ला तथा केन्द्रीय कार्यलयमा रिले अनशनको कार्यक्रम पनि राखिएको छ । अन्तिममा आमरण अनशन बस्नेसम्मको आन्दोनका कार्यक्रम तयार पारिएको सो कार्यदलका एक नेताले बताएका छन् ।

तीन सदस्यीय कार्यदलले तयार पारेको आन्दोलनको कार्यक्रमको मस्यौदा वरिष्ठ नेता पौडेल र महामन्त्री डा.शशांक कोइरालालाई बुझाइनेछ ।

पौडेल समूहले महाधिवेशन प्रभावित बनाउन सभापति देउवाले केन्द्रीय विभागको गठन गरेको आरोप छ ।

पार्टीको पुरानो संरचनाको समायोजन र क्रियाशील सदस्यतामा चलखेल गरेको आरोप पौडेल समूहको छ ।

विधानमा २८ वटा विभाग भएकामा कार्यकर्ता रिझाउनकै लागि बढाएर ४७ वटा पु¥याएको आरोप पौडेल समूहको छ ।

कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध एक भएर लड्नुपर्ने बेला वरिष्ठ नेता पौडेल, महामन्त्री डा.कोइरालासहितका नेताहरूले कार्यदल बनाएर सभापति देउवाविरुद्ध आन्दोलनको तयारी गरेपछि कम्युनिस्टहरूले आश्चर्य चकित परेर हेरेका छन् ।

Published : Tuesday, 2020 September 1, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया