कांग्रेस काठमाडौं– ८ का पूर्व क्षेत्रीय सभापति महर्जनको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वक्षेत्रीय सभापति पन्नाकाजी महर्जनको ६७ वर्षको उमेरमा निधन भएको छ ।

तत्कालीन काठमाडौं निर्वाचन क्षेत्र ८ का पूर्वक्षेत्रीय सभापति महर्जनको शनिबार बिहान निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १५, डल्लूस्थित आफ्नै निवासमा उनको निधन भएको थियो ।

विक्रम संवत २०३६ सालदेखि राजनीतिमा संलग्न रहँदै आएका स्वर्गीय महर्जनले पार्टीको नवौं महाधिवेशनपछि तीन पटकसम्म क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

स्वर्गीय महर्जन नेपाल ट्रेड युनियन कांग्रेस तदर्थ समिति काठमाडौंको पूर्व वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा स्वर्गीय महर्जनले जेल जीवन पनि व्यतित गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व क्षेत्रीय सभापति पन्नाकाजी महर्जनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

देउवाले उनीप्रति श्रद्धाञ्जलि व्यक्ति गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् । शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट उनले समवेदना प्रकट गरेका छन् ।

Published : Saturday, 2020 August 29, 3:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया