कोरोना परास्त गर्न स्वास्थ्य मन्त्री र कांग्रेस नेता थापाको कुरा मिल्यो, धनकुटाले पायो पीसीआर मेसिन र भेन्टिलेटर
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाको मागअनुसार जिल्ला अस्पताल धनुकटालाई पीसीआर मेसिन र त्यसको उपकरण तथा भेन्टिलेटरको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन करोड रुपियाँ विनियोजन गरेको छ ।
पूर्वमन्त्री समेत रहेका थापाले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर धनकुटा जिल्ला अस्पताललाई पीसीआर मेसिन र भेन्टिलेटर उपलब्ध गराइदिन माग गरेका थिए । थापाको मागअनुसार मन्त्री ढकालले अस्पताललाई ३ करोड रुपियाँ विनियोजन गरिदिएका हुन् ।
कोरोनाभाइरसको नमूना परीक्षण गर्न पीसीआर मेसिन र त्यसको सम्पूर्ण उपकरण तथा चार थान भेन्टिलेटर धनकुटा अस्पताललाई उपलब्ध गराइदिन माग गर्दै थापाले भदौ १० गते मन्त्री ढकाललाई ज्ञापन पत्र बुझाएका थिए ।
जिल्ला अस्पताल धनकुटालाई पीसीआर मेसिन र त्यसको उपकरण तथा भेन्टिलेटरका लागि तीन करोड विनियोजन गरिदिएकोमा थापाले स्वास्थ्यमन्त्री ढकाललाई धन्यावाद दिएका छन् ।
‘हाम्रो मागप्रति गम्भीर भई यथाशीघ्र आकस्मिक तवरले धनकुटा जिल्लामा अति आवश्यक पीसीआर मेसिन र त्यसका थप उपकरणहरूका साथै ४ थान भेन्टिलेटर स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य विभागमार्फत तुरुन्त धनकुटा जिल्ला अस्पताललाई प्रदान गर्ने व्यवस्था मिलाइदिनुहुन अनुरोध छ’, कांग्रेस नेता थापाले ज्ञापन पत्रमा भनेका थिए ।
कांग्रेस नेता थापाले जिल्ला अस्पताल धनकुटामा भोजपुर, संखुवासभा र तह्रथुमका बिरामीहरूको उपचार गर्दै आएको भन्दै कोरोना संक्रमितहरूको उपचारमा सहयोग होस् भनेर पीसीआर मेसिन र भेन्टिलेटरको माग गरिएको बताएका छन् ।
सूर्यबहादुर थापा फाउण्डेसनले पनि धनकुटा जिल्लामा स्वास्थ्य सामग्रीहरू वितरण गर्दै आएको छ । पूर्वमन्त्री एवम् कांग्रेस नेता थापाले समस्यामा परेका अति विपन्न परिवार र मजदुरहरूलाई राहत पनि वितरण गर्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया