कांग्रेस नेता चौधरीले कम्युनिस्ट सरकारभित्र उथलपुथल ल्याइदिए, झस्कियो बालुवाटार

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद पदमनारायण चौधरीले विश्व बैंकमार्फत किसानको नाममा आएको ठूलो अनुदान रकम दुरुपयोग भएको प्रमाणित हुँदा पनि त्यसमा संलग्न व्यक्तिहरूलाई कारवाही नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

चौधरीले बिहीबार विज्ञप्ति जारी गरेर विश्व बैंकको सहयोगमा सञ्चालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)मा भएको व्यापक अनियमितताको विश्व बैंकले आफै छानविन गरी दोषीलाई कारवाही गर्न नेपाल सरकारका अर्थ मन्त्रीलाई पठाएको पत्रले देशको गरिमामा नै आँच आएको बताए ।

‘किसानको नाममा आएको ठूलो अनुदान रकम राजनीति पहुँचको आधारमा आफ्ना निकट व्यक्तिहरूलाई वितरण गरिएको र नक्कली कृषि फर्म देखाएर लाभ लिने जस्ता घृणित कार्यको विश्व बैंकको अनुसन्धानले पुष्टि गरेको छ’, उनले भनेका छन् ।

‘सरकारले यस विषयमा छानविन गरेर दोषीलाई दण्डित गर्ने अग्रसरता नदेखाउनु सरकार दोषीलाई बचाउनेतर्फ लागि परेको प्रष्ट देखिन्छ’, चौधरीले भने ।

‘स्वयम् विश्व बैकले कृषि क्षेत्रमा गरेको सहयोगमा भएको व्यापक अनियमितता तथा भ्रष्टचार गर्ने पदाधिकारीहरूको नाम समेत किटानी गरी कारवाहीको लागि नेपाल सरकारको ध्यान आकृष्ट गर्दा पनि हालसम्म पनि दोषीहरूलाई कारवाही गर्न नसक्नु सरकारको निकम्मापन हो’, कांग्रेस नेता चौधरीले भनेका छन् ।

‘एकातिर किसानहरूलाई सयममै आवश्यक मलखाद, वीउ विजनहरू उपलब्ध गराउनु नसक्नु, अर्कोतिर भ्रष्टचारमा लिप्त हुनु, सरकारको यस किसिमको गैरजिम्मेवार र लज्जास्पद कार्यको घोर भर्त्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘दातृ नियकाबाट प्राप्त हुने अनुदानलाई सही रुपमा सदुपयोग गर्न र भ्रष्टचार तथा अनियमिततालाई नियन्त्रण गर्न सरकारलाई सचेत गर्दछौं’, उनले भने, ‘तत्काल दोषीलाई कानूनी कारवाहीको जोडदार माग गर्दछौं ।’

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारमा कृषि मन्त्रालयको जिम्मेवारी घनश्याम भुसालले लिएका छन् । आदर्शका ठूला कुरा गर्ने मन्त्री भुसालले पनि मन्त्रालयमा काम गर्न नसकेको भनेर आलोचना भइरहेको छ ।

मन्त्रालयमा भएका भ्रष्टाचारका समाचारप्रति बालुवाटारले ध्यान नदिएको आरोप छ । कांग्रेसले भ्रष्टाचारविरुद्ध आवाज उठाएपछि बालुवाटारलाई तनाब बढाइदिएको छ ।

संसदमा कृषि मन्त्रालयमा संयोजन गर्ने जिम्मेवारी पाएका सांसद एवम् कांग्रेस नेता चौधरीले कृषि मन्त्रालयको ठूलो भ्रष्टाचार काण्डको विरुद्ध आवाज उठाउँदै कारबाहीको माग गरेपछि कम्युनिस्ट सरकारका मन्त्री र उच्च तहका कर्मचारीहरूभित्र उथलपुथल भएको छ । भ्रष्टहरूलाई तनाब समेत भएको छ ।

Published : Thursday, 2020 August 27, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया