विश्वप्रकाश शर्माद्वारा कम्युनिस्ट सरकारलाई खबरदारी, दुईको मृत्युबारे छानविनको माग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले रौतहट र मोरङमा राज्यको नियन्त्रण र जिम्मेवारीमा रहेका दुई युवाहरूको शंकास्पद ढंगले मृत्यु भएको भन्दै घटनाप्रति ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरेर रौतहट र मोरङको घटना गम्भीर रहेको जनाएका हुन् ।

उनले घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कारबाहीको माग गरेका छन् । मोरङ र रौतहटमा बिहीबार दुई जनाको शंकास्पद मृत्यु भएपछि कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केहि दिनदेखि हिरासतमा रहेका वर्ष १९ का विजय महरा परिवारका सदस्यले दिएको जानकारी अनुसार स्वस्थ र हट्टाकट्टा युवक थिए’, शर्माले भनेका छन् ।

‘आज अकस्मात वीरगञ्जको एक अस्पतालमा उनको निधन भएको खबर थाहा पाउँदा परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक हो’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

‘नेपाली कांग्रेस रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकार समक्ष माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘मोरङको जिल्ला कारागारमा रहेका वर्ष २६ का युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पुर्‍याए लगत्तै भएको मृत्युबारे शंकास्पद विवरणहरू बाहिर आएका छन्’, शर्माले भने, ‘घटनाको सत्यतथ्य अनुसन्धान मार्फत सार्वजनिक गर्न नेपाली कांग्रेस माग गर्दछ ।’

कांग्रेस प्रवक्ता शर्माले धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरू दोहोरिनु अत्यन्तै दुःखद् रहेको बताएका छन् ।

‘एकपछि अर्को उस्तै घटना हुँदै जाँदा नेपाल प्रहरीको छविलाई त्यसले पु¥याउने असरप्रति गम्भीरताका लागि यसको नेतृत्वलाई समेत सजग गराउँदै नेपाली कांग्रेस वास्तविकता सार्वजनिक गर्ने र आवश्यक कार्वाहीको प्रक्रियामा जाने कार्यमा कुनै मोलाहिजा नगर्न सरकार समक्ष आग्रह र माग गर्दछ’, शर्माले भनेका छन् ।

शर्माले रौतहट माधवनारायण नगरपालिकाको एक मन्दिरका पूजारी श्रीराम साहको हत्याको दोषीलाई कानूनको कठघरामा खडा गर्न अनुसन्धानमा विशेष तदारुकताका लागि पनि सरकारको विशेष ध्यानाकर्षण गराएका छन् ।

कम्युनिस्ट सरकारले शान्ति सुरक्षामा लापरबाही गरिरहेको कांग्रेसका प्रवक्ता शर्माको भनाइ छ ।

Published : Thursday, 2020 August 27, 7:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया