यी हुन् देउवा–पौडेलको चरित्र हत्या गर्ने कांग्रेस सहकारी विभागका सदस्य

काठमाडौं । नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागका सदस्य पुष्पबहादुर पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई अपमान हुने गरेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

पौडेललाई विभागका प्रमुख आनन्दप्रसाद ढुंगानाको सिफारिसमा सभापति देउवाले सदस्यमा मनोनीत गरेका हुन् । विभागको वरीयतामा सदस्य पौडेल प्रमुख ढुंगाना, उप–प्रमुख गोविन्दबहादुर मल्ल र सचिव सुरेन्द्र भण्डारीपछि तेस्रो स्थानमा रहेका छन् ।

सभापति देउवाको हस्ताक्षर रहेको पत्र बुझेका सदस्य पौडेलले पार्टीका शीर्ष नेताद्वय सभापति देउवा र वरिष्ठ नेता पौडलविरुद्ध दिएको अभिव्यक्तिले कांग्रेसभित्र खैलाबैला भएको छ ।

विभागका सदस्य पौडेलले फेसबुकमा सभापति देउवालाई ‘शेर’ र वरिष्ठ नेता रामचन्द्र पौडेललाई ‘चन्द्र’ भनेर अपमानित हुने गरेर लेखेका छन् ।

पौडेलले आफ्नै सभापति र वरिष्ठ नेताविरुद्ध दिएको अभिव्यक्तिलाई सहकारी विभागकै सदस्यहरूलाई मन परेको छैन । उनीहरूले पार्टीको विभागमा बसेर अनुशासनहीन कार्य गरेको भन्दै कारबाहीको माग समेत गरेका छन् ।

‘वीपी पुत्र, गणेशमान पुत्र, निधि पुत्र ३ जना मिली पार्टीको नेतृत्व लिने युवालाई समेटी आगामी महाधिवेशनमा जाने हो भने शेर र चन्द्र मिलेपनि केही लाग्नेछैन’, सदस्य पौडेलले लेखेका छन्, ‘यसैमा नेकाको भलो हुनेछ ।’

सभापति देउवाले विश्वास गरेर सहकारी विभागमा सदस्यमा मनोनीत गरेका व्यक्तिले नै देउवाविरुद्ध यसरी अभिव्यक्ति दिएपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरू चिन्तित बन्न पुगेका छन् ।

विभागका ‘अराजक’ सदस्य पौडेल जस्ता व्यक्तिबाट १४औँ महाधिवेशनमा कसलाई फाइदा हुने हो प्रस्ट भएको छ ।

विभागका प्रमुख ढुंगाना उपसभापति विमलेन्द्र निधि निकट मानिन्छन् । ढुंगानाले सिफारिस गरेका सदस्य पौडेलले सभापति देउवा र वरिष्ठ नेता पौडेलको अपमान गर्नुलाई सहज रुपमा कार्यकर्ताले लिएका छैनन् ।

Published : Thursday, 2020 August 27, 1:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया