प्रधानमन्त्री ओलीको जिल्लामा गोरु काट्नेहरू पक्राउ, एकको मृत्यु

दमक । झापा जिल्लामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

झापा गाउँपालिका–३ का ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको हो । गोली लागेर गम्भीर घाइते आलमको उपचारको क्रममा बिएण्डसी अस्पताल दमकमा मृत्यु भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताएका छन् ।

स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ । गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो ।

उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएका थिए ।

सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्र प्रहरी टोलीले आठ राउण्ड गोली चलाएको थियो ।

कामाटोली बजारमा गोरु काट्दै गरेको अवस्थामा झापा गाउँपालिका–३ का अब्दुल सलाम र ताजमल हकलाई पक्राउ गरिएको छ ।

गोरु काट्नेहरूलाई लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताएका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्लामा यसअघि पनि तस्कर र प्रहरीबीच झडप भएको थियो । बेलाबेला झापामा यस्ता घटनाहरू हुने गरेका छन् ।

Published : Wednesday, 2020 August 26, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया