काठमाडाैंमा क्यापिटल मर्चेन्टमा रहेकाे धितोको छ सय रोपनी जमीन खान सलबलाए ‘माफिया’हरू

काठमाडौं । संकटग्रस्त अवस्थामा रहेको काठमाडौंको क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइन्सान्स लिमिटेडमा धरौटी राखिएका बहुमूल्य जमीनहरू कौडीको भाउमा कब्जा गरेर ऋणीहरूको बाँकी निजी सम्पत्ति पनि हड्प्न भू–माफियाहरूको समूह सक्रिय भएको रहस्य बाहिरिएको छ ।

फाइन्सान्समा शम्भुबहादुर केसीले गल्ती गरेको सजाय काटिसकेका छन् । उनले कानूनले दिएको दण्ड सजाय भोगिसकेका छन् । केसीले आफूले गरको गल्तीलाई सुधार गर्न खोजेका छन् । तर, माफियाहरूले केसीलाई मात्रै नभइ ऋणीहरूलाई समेत दुःख दिएका छन् ।

केसीले फिर्ता पाउनुपर्ने जमीन र शेयरहरू पाउन सकेका छैनन् । भू–माफिया र सेयरमा हालिमुहाली गर्दै आएको एउटा समूहले फाइनान्समा धरौटीमा राखेको झण्डै ६-७ सय रापनी जमीन कब्जाको नीति लिएको छ ।

जेलमा रहका बेला अनधिकृत रुपमा जबरजस्त रुपमा काठमाडौंको झण्डै छ सय रोपनी जमीन कौडीको भाउमा बिक्री गरिदिएकाे केसीकाे दाबी छ ।

काठमाडौंको फुटुङ, धर्मस्थली, सरस्वती, काभ्रेस्थली, गोँगबु, साग्लामा रहेको ऋणीहरूको जमीन मिलोमतोमा सेटिङ गरेर जबरजस्ती कौडीको भाउमा बिक्री भइसकेको छ । केसीले त्यस बेला पनि रोपनीको ४० देखि ५० लाखको दरले खरिद गरेका थिए । केही जमीन अलिक थोरै मूल्यको रहे पनि बाँकी जमीन बहुमूल्य नै रहेकाे केसीले बताए ।

राष्ट्र बैंकले जमीनको मूल्यांक गर्दा मनपरि ढंगले गरिदिएकाले कौडीको भाउमा भू–माफियाहरूले किनेर रातारात मालामाल भएको आराेप छ ।

ती जमीनका विषयमा ऋणीहरूले कानूनी उपचार खोज्ने हो भने त्यस बेला निर्णय प्रक्रियामा रहेका सरकारी कर्मचारी र भू–माफियाहरू फस्ने पक्का रहेकाे केसीकाे भनाइ छ ।

अहिले पनि राष्ट्र बैंकका केही कर्मचारी र फाइनान्सका सञ्चालकहरू माफियाहरूकै चंगुलमा फसेकाले समस्या भएको केही ऋणीहरूको भनाइ छ । केही माफियाहरू क्यापिटल मर्चेन्टसँग साइनो पनि नरहेकाहरू छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका करीव ६ सय रोपनी जमीन बिक्री गरेर अन्दाजी ८० करोड रुपियाँ मात्रै जम्मा भएको थियो । त्यति धेरै जमीन बिक्री गर्दा पनि दायित्व बाँकी रहेको देखाइएको केसीले बताए । फाइनान्सका केही सेयर धनीहरूको सेयरको रकम पनि तिरिएको छ ।

छ सय रोपनी जमीन बिक्री गरेका बेला १ अरब ५० करोड रकम दिएको भए त्यही समयमा फाइनान्सको सबै हिसाब मिल्ने थियो ।

समस्यामा परेका एक ऋणीले भने, ‘हाम्रो धरौटी राखिएको जमीन कौडीको भाउमा बिक्री गरियो । त्यस बेला ६ सय रापनी जमीन बिक्री गरेर ८० करोड मात्रै देखाइयो । त्यो निर्णय हामीलाई चित्त बुझेन भनेर कानूनी उपाय खोज्यौँ भने त्यस बेला निर्णय प्रक्रियामा रहेकाहरू फस्न सक्छन् ।’

केसीको एउटा गल्ती सुधार गर्नुको साटो माफियाहरूले नै अर्को गल्ती गरेर ऋणीहरूलाई फसाउन खोजेकाे आराेप लागेकाे छ । भू–माफिया र सेयर माफियाहरू कति बलिया छन् भन्ने कुरा केसी र ऋणीहरूलाई धरौटीको जमीन फिर्ता गर्न नचाहनुले देखिएको छ ।

अहिले पनि फाइन्सानमा ऋणीहरूको ६ देखि ७ सय रोपनी जमीन धितोमा छ । सबै जमीन राष्ट्र बैंकले रोक्का गरेर राखेको छ । धितोमा रहेको जमीन बिक्री गरेर सबै हिसाब किताव मिलाउन सजाय भोगेर बाहिर आएका शम्भुबहादुर केसी तयार छन् । उनले सबै ऋण तिरेर समस्या समाधान गर्न तयार रहेकाे बताएका छन् ।

तर, भू–माफियाहरूले केसीलाई धरौटीमा रहेको जमीन दिन तयार छैन । राष्ट्र बैंकले पनि धरौटीको जमीन केसीलाई बिक्री गर्न खुला गरिदिने हो भने सबै ऋणी र सेयरधनीहरूको समस्या समधान हुन्छ ।

राष्ट्र बैंकका कर्मचारीहरू पनि भू–माफियाहरूसँग मिलेको आरोप छ । केसीले जमीन बिक्री गरेर ऋणीहरूलाई रकम दिन तयार छन् । उनले राष्ट्र बैंक र विभिन्न संस्थाबाट ल्याइएको रकम पनि तिर्न तयार छन् ।

केसी जेलमा रहेका बेला ऋणीहरूले क्यापिटल मर्चेन्ट बैंकमा राखेको धितोको सबै जमीनहरू कब्जा गर्ने योजना बनाएको आराेप छ ।

राष्ट्र बैंक र केही माफियाहरूले विदेशमा रहेका व्यक्तिको नाममा रहेको ५०–६० लाख बराबरको सेयर समेत अबैधानिक रुपमा अर्काको नाममा नामसारी गरिदिएको छ ।

कुनै पनि व्यक्तिको नाममा रहेको सेयर सम्बन्धित व्यक्तिको अनुमति नहुँदासम्म अर्को व्यक्तिको नाममा सार्न पाइँदैन ।

ती व्यक्तिहरू नेपाल आएर आफ्नो सेयर अर्को व्यक्तिको नाममा नामसारी गरिदिएको आरोपमा उजुरी दिए भने कारबाही हुने पक्का छ ।

संकटग्रस्त फाइनान्स खरिद गरेको नयाँ व्यवस्थापन समूह पनि भू–माफिया र सेयर माफियाको चंगुलमा फसेर अहिलेसम्म समस्या गर्नेतिर ध्यान दिएको छैन । बरु केसी र ऋणीहरूको नाममा रहेको जमीन कब्जा गरेर हत्याउने दाउमा लागेको छ ।

ऋणीहरूको जमीन र सेयर हत्याउन माफियाहरूले ठूलो चलखेल गरेको गरेको रहस्य बाहिर आएको छ । फाइनान्सले ती आराेपहरू स्वीकार गर्न तयार छैन ।

केसीले फाइनान्स डुबाएको र बैंकिंग कसुरकाे अभियोगमा सजाय पाइसकेका छन् । केही व्यक्ति अहिले पनि जेलमा छन् । केसीभन्दा पनि ठूलो माफियाको जालोमा अहिले क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स चँगुलमा परेको चर्चा शुरू भएकाे छ ।

के भन्छन् क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्सका निर्वातमान अध्यक्ष चिरञ्जीवी थापा ?

हामी यो समस्या समाधानका लागि तयार छौँ । पैसा तिर्ने हो भने ब्याज मिनाहा गर्न पनि तयार छौँ । उहाँहरूलाई हामीले समय पनि दिएका थियौँ । पटक–पटक बोलाएका पनि छौँ । उहाँहरू आउनु हुँदैन । आएर कुरा गर्ने, पैसा तिर्ने हो भने कुनै समस्या छैन । भू–माफिया वा अन्य के माफिया हो त्यस्तो केही पनि छैन । यी सबै आरोपहरू मात्रै हुन् । हामी कानूनी रुपमा अगाडि बढको छौँ । हामीले तलमाथि गर्‍यौँ भने जेल जाने अवस्था हुन्छ । कानूनले दिएको सुविधा उहाँहरूलाई दिएका छौँ ।

Published : Wednesday, 2020 August 26, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया