कम्युनिस्ट सरकारले कोरोनालाई भयाबह बनाएपछि कांग्रेस आक्रोशित, कोभिड समितिद्वारा भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरूलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले मंगलबार विज्ञप्ति जारी गरेर कम्यनिस्ट सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा प्रभावकारी रुपमा कुनै पनि काम गर्न नसकेको बताए ।

‘सरकारकै अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रणभन्दा बाहिर जादैछ र नागरिक जीवन अत्यन्त संकटमा छ’, डा.महतले भनेका छन्, ‘यस अवस्थामा फेरि पनि हामी तत्कालै गर्नुपर्ने केही कामहरूका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

डा.महतले कोरोना संक्रमण रोक्ने उपाय र यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न सरकारले चाल्नुपर्ने कदमहरूका बारेमा निरन्तर खबरदारी गर्दै आएको समेत बताएका छन् ।

नेपाली कांग्रेस पार्टी र यसका विभिन्न तहका निकायहरू, कांग्रेसका निर्वाचित स्थानीय निकायहरू, प्रदेश र संघीय सांसदहरू तथा भ्रातृ एवं शुभेच्छुक संस्थाहरूले आफ्नो तर्फबाट गर्न सक्ने कामहरू पनि गर्दै आएको संयोजक डा.महतले बताएका छन् ।

‘नेपाली कांग्रेसका सभापतिले यस विषयमा केही दिन अगाडि र पहिले पनि पटक–पटक सरकारको ध्यानाकर्षण र खबरदारी गर्दै आउनुभएको छ’, सह–महामन्त्री डा.महतद्वारा जारी विज्ञप्तिमा उल्लेख ।

‘नेपाली कांग्रेसद्वारा गठित कोभिड—१९ अनुगमन समितिको तर्फबाट देशभरिको अवस्थाको निरन्तर अनुगमनका आधारमा प्राप्त निष्कर्षहरू सार्वजनिक गर्ने र सरकारको ध्यानाकर्षण गर्ने काम निरन्तर रुपमा गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसका सह–महामन्त्री डा.महतले अहिलेसम्म सरकार दिशाविहीन र योजनाविहीन भएको बताएका छन् । ‘यस अवस्थामा कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालिन र दीर्घकालीन योजना सार्वजनिक गरियोस्’, उनले भनेका छन् ।

‘कोरोना संक्रमण फैलदै गएको वर्तमान अवस्थालाई ध्यानमा राखी हरेक अस्पतालमा कोरोना संक्रमित बिरामी राख्ने कुरा व्यवहारिक नभएकोले तत्काल आवश्यक संख्यामा निजी अस्पतालहरूलाई कोरोना अस्पताल घोषणा गरियोस्’, विज्ञप्तिमा उल्लेख ।

‘अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टीलेटरको तत्काल व्यवस्था गरियोस्’, डा.महतले भनेका छन्, ‘स्वास्थ्यकर्मीहरूलाई विमाको व्यवस्था तत्काल कार्यान्वयन गर्नुको साथै कोरोना जोखिम भत्ताको व्यवस्था गरियोस् ।’

‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि हुने गरेको दुर्व्यवहार र भौतिक आक्रमण रोक्ने समुचित व्यवस्था तत्काल सुनिश्चित गरियोस्’, कांग्रेसका सह–महामन्त्री डा.महतले भने, ‘साथै संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरूको उद्धार र उपचारको व्यवस्था सरकारले गरोस् ।’

‘संक्रमणको सर्भिलेन्स र टे«सिङको आधारमा संक्रमणको सम्भावना ज्यादा भएका स्थानहरुमा पीसीआर परिक्षणलाई व्यापक बनाइयोस्’, कांग्रेसले भनेको छ, ‘उपचारको क्रममा उपयोगी औषधिहरूलाई सुलभ मूल्यमा तत्काल सहज उपलब्धता सुनिश्चित गरियोस् ।’

‘स्थानीय र प्रदेश तहमा स्वास्थ्यकर्मीहरूको कोरोना संक्रमण व्यवस्थापकीय तालिमलाई विस्तार गरियोस्’, विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा अलपत्र श्रमिकहरूलाई तत्काल नियमित उडानमा स्वदेश फिर्ता ल्याउने व्यवस्था सरकारले गरोस् ।’

‘हवाई मार्ग तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरूलाई व्यवस्थित आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था मिलाइयोस्’, विज्ञप्तिमा भनिएको छ, ‘देशभर आवश्यक मात्रामा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्रहरू स्थानीय सरकारको सहकार्यमा तत्काल व्यवस्था मिलाइयोस् ।’

‘कोरोना संक्रमण भएकाहरूलाई लक्षणको स्वरुप हेरी आइसोलेसनमा राख्ने वा उपचारमा राख्ने निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने केन्द्रिकृत र अव्यवहारिक निर्णय तत्काल फिर्ता गरी सम्बन्धित अस्पतालहरूले निर्णय गर्ने व्यवस्था गरियोस्’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

‘शैक्षिक वर्ष खेर नजाने गरी उच्च शिक्षा तहको परीक्षा वैकल्पिक विधि अपनाएर भए पनि संचालन गरियोस्’, विज्ञप्तिमा कांग्रेसले भनेको छ ।

कम्युनिस्ट सरकार कोरोना रोकथाम र नियन्त्रणमा असफल भइरहेका बेला कांग्रेसको कोभिड–१९ अनुगमन समितिले विभिन्न मागसहित सचेत गराएको छ ।

Published : Wednesday, 2020 August 26, 3:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया