कांग्रेस नेता बस्नेतको कार्यले सिन्धुपाल्चोकका कम्युनिस्टलाई तनाब, परिवार गुमाएका बालिकाहरूको अभिभावक बने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोमा परेर अभिभावक गुमाएका ८ जना बालिकाहरूको शिक्षाको जिम्मेवारी लिने घोषणा गरेका छन् ।
कांग्रेसको खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले मंगलबार विज्ञप्ति जारी गरेर ८ जना बालिकाहरूलाई कक्षा १२ सम्मको शिक्षा निःशुल्क रुपमा दिने जनाएका हुन् । उनले सबै बालिकाहरूलाई काठमाडौं ल्याएर होस्टेलमा राखेर अध्ययन गराइने बताए ।
साउन ३० गतेको पहिरोबाट जुगल गाउँपालिकाको वडा नं. २ को लिदीमा ७ र असार २५ गते बाढीपहिरोमा परेर जम्बुमा अभिभावक गुमाएकी १ जना समेत ८ जनालाई काठमाडौं ल्याएर होस्टेलमा राखेर अध्ययन गराइनेछ ।
लिदीको पहिरोमा ३९ जना व्यक्ति वेपत्ता भएकोमा ३२ जनाको शव भेटिएको थियो ।
लिदीको पहिरोमा अभिभावक गुमाएर टुहुरो हुनेहरूमा स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, अनिता दोङ, कान्छी दोङ, नाम नखुलेकी साङबहादुर दोङको छोरीसहित ७ जना र जम्बुको बाढीपहिरोबाट आफ्नो ५ जनाको परिवार गुमाएर एक्लै बाँचेकी छिरिङ गोले समेत गरी ८ जना बालिकाहरूलाई कक्षा १२ सम्मको पठन पाठनको व्यवस्था गर्ने जिम्मा आफूले लिने घोषणा गरेको कांग्रेस नेता बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘सबै बच्चाहरूलाई यसै शैक्षिकशत्रबाट काठमाडौं उपत्यकाभित्र रहेका स्कूलको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने भएकोले यथाशीघ्र सम्पर्कमा आउन वा ल्याउन सम्बन्धित व्यक्ति वा उनीहरूका आफन्तहरूलाई आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
सिन्धुपाल्चोक जिल्लामा कोरोनाभाइरसको संक्रमणबाट जनताको जीवन बचाउन विभिन्न भूमिका खेलेका पूर्वमन्त्री बस्नेतले स्वास्थ्यकर्मी र कांग्रेसका नेताहरूको कोरोना बीमा समेत गरिदिएका थिए । कोरोनाबाट समस्यामा परेकाहरूलाई बस्नेतले राहतहरू समेत वितरण गर्दै आएका छन् ।
तत्कालीन माओवादीबाट प्रतिनिधि सभामा निर्वाचित भएर सभामुख रहेका अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकमा सरकारी हेलिकप्टरमा गएर अनुगमन गर्दै आएका छन् । तर, उनले जनतालाई राहत हुने गरेर काम गर्न नसकेको भनेर गुनासा आइरहेका बेला कांग्रेस नेता बस्नेतले बालिकाहरूलाई शिक्षाको जिम्मेवारी लिने घोषणा गरेका छन् ।
पहिरोपीडितहरूलाई खाद्यान्न र नगद समेत सिन्धुपाल्चोक कांग्रेसले वितरण गरेको छ । सो अभियानमा बस्नेतको विशेष सहयोग रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया