उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा, मंगलबार काठमाडौंमा २३२ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ ।

तीन जिल्लाका सीडीओ र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो ।

उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको छ ।

सीडीओहरूको सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहनेछ ।

उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको छ ।

काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहभागी थिए ।

मंगलबार उपत्यकामा २३२ सहित थप ८५५ संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या भने ३३ हजार ५३३ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या भने १६४ पुगेको छ । २४ घण्टामा सात जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । जसमध्ये तीन जना काठमाडौंका हुन् ।

भदौ २ गते बसेको उपत्यकाका तीन जिल्लाका सीडीओको बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म एक साता निषेधाज्ञाको निर्णय गरेको थियो । निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन् ।

यसअघि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको थियो । उपत्यकामा मात्र संक्रमितको संख्या तीन हजार नाघिसकेको छ । काठमाडौंमा मात्र करिब २८ सयमा संक्रमण पुष्टि भएको छ ।

सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।

Published : Tuesday, 2020 August 25, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया