ओली सरकारद्वारा ईश्वर पोखरेलका सम्धी डा.कोइरालालाई आकर्षक पदमा नियुक्त

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्ड दुईतिहाइको कम्युनिस्ट सरकारले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी प्रा.डा.उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैकको सन्चालक समितिकाे सदस्यमा नियुक्त गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रा.डा.कोइरालालाई शुक्रबार बाणिज्य बैंकको सदस्यमा नियुक्त गरेका हुन् । खड्गप्रसाद ओलीकाे दवावमा पाेखरेलका सम्धीलाई नियुक्त गरेकाे जनाइएकाे छ ।

शुक्रबार सदस्यमा नियुक्त प्रा.डा.कोइरालालाई बैंकले बुधबार सञ्चालक समितिको बैठक राखी अध्यक्ष चयन गर्दैछ ।

बाणिज्य बैंकका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्यमा नियुक्ति गरी प्रा.डा.कोइरालालाई बैंकको अध्यक्ष चयन गर्न लागिएको स्रोतले नजाएको छ ।

उपप्रधान तथा रक्षामन्त्री पोखरेलका सम्धी प्रा.डा.कोइराला सातौं पटक सरकारी नियुक्ति पाउने भाग्यमानी व्यक्ति हुन् । उनी २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भएका थिए ।

खाद्य संस्थानको महाप्रबन्धक भएपछि प्रा.डा.कोइराला महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइएका थिए । त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए ।

०५८ मा ईश्वर पोखरेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा सम्धी प्रा.डा.कोइराला आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए ।

आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय प्रा.डा.कोइराला खाली बसेका थिए । त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भएका थिए ।

उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट केही समय राजेन्द्र खेतानको लक्ष्मी बैंकको अध्यक्ष पनि भएका छन् ।

प्रा.डा.कोइरालालाई उपप्रधानमन्त्री पोखरेलले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिलाए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको भीसीको कार्यकाल सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइएको छ ।

पूर्वएमालेमा राजनीतिक योगदान भएका थुपै्र नेता कार्यकर्ता र पेशाकर्मी छन् । अहिले नेकपामा पनि एकसे एक पार्टीका लागि त्याग गर्नेहरूको बाहुल्य छ ।

नेकपा सत्तामा आएपछि नियुक्ति भने नेताका आफन्तले मात्र पाउँछन् भन्ने दृष्टान्त प्रा.डा.कोइरालाको सातौं नियुक्तिले पुष्टि भएको छ ।

नेकपाकै नेता कार्यकर्ताले प्रा.डा.कोइरालाको नियुक्तिको बिरोधमा सामाजिक संजालमा लेख्न थालेका छन् ।

युवा संघका स्थायी समिति सदस्य देवराज पोखरेलले लेखेका छन्, ‘उपप्रधानमन्त्रीको सम्धी पर्नु भएछ । त्यसैले कुनै उल्लेखनीय काम नगर्दा नगर्दै पनी ०५१–५२ देखी निरन्तर नियुक्ति पाउनु भएको छ । लाखौं नेता कार्यकर्ताको रगत र पसिना बगाएको, सम्धी पोस्न हुँदै होइन ।’

Published : Tuesday, 2020 August 25, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया