काठमाडौंका मेयरहरूले गरिवको भोको पेट देखेनन्, निषेधाज्ञा लम्बाउन मात्रै सिफारिस
काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूलाई सुझाव दिएको छ ।
सोमबार काठमाडौंमा बसेको उपत्यका मेयर फोरमको बैठकले काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमणको अवस्था अझै कम नभएको ठहर गर्दै निषेधाज्ञा जारी राख्न आग्रह गर्ने निर्णय गरेको हो । तीन वटै जिल्ला प्रशास कार्यालयलाई निषेधाज्ञा भदौ १५ गतेसम्म निरन्तरता दिन सुझाव दिने निर्णय गरेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताएका छन् ।
कोरोना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परीक्षण स्वास्थ्य मन्त्रालयअन्तर्गतको केस इन्भेस्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ (सीआईसीटी)सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाभित्र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसहरूको पीसीआर परीक्षण गर्न आवश्यक रहेको बताएका छन् ।
उनले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूको पीसीआर परीक्षण नभएकाले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी क्लोज कन्ट्याक्टमा रहेका सबै मानिसको १ पटक परीक्षण गर्ने निर्णय गरिएको बताए ।
निषेधाज्ञाको अवस्थामा उपत्यकाबाहिरबाट कोही पनि नआएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने शाक्यले बताएका छन् ।
काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढ्दै गएको छ । त्यसैले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले ४ भदौदेखि लागू हुने गरी १ साताका लागि निषेधाज्ञा जारी गरेका छन् ।
उपत्यकामा संक्रमणको दर घट्न सकेको छैन । त्यसैले पनि फोरमले निषेधाज्ञालाई केही समय थप गर्न सुझाव दिँदै पीसीआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाएको हो ।
काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म लम्बाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गर्ने निर्णय गरेपनि निषेधाज्ञाले खान नपाएका अति विपन्न परिवार, मजदुरहरूका विषयमा के गर्ने भन्ने कुनै निर्णय गरेका छैनन् ।
काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा अति विपन्न र मजदुरहरू भोकभोकै मर्ने अवस्था सिर्जना भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया