रामचन्द्रहरूभन्दा म लोकप्रिय छुः डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई आफूले मात्रै पराजित गर्न सक्ने बताएका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा डा.कोइरालाले महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने बताए । उनले पार्टी सभापतिका लागि अरु नेताहरूको दावी रहे पनि देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहेको बताए ।

महामन्त्री डा.कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने बताए । ‘म लोकप्रिय छु’, उनले भने, ‘रामचन्द्रजीले देउवालाई हराउन सक्नु हुन्न ।’

सभापतिको उम्मेदवार बन्न देउवाविरोधी समूहमा धेरै नेताहरूको दाबी रहेको उनले बताए ।
उनले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहको नाम लिएरै सबै मिलेर एक जना उम्मेदवार बन्नुपर्ने बताए ।

‘व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ’, उनले भने, ‘रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरुले पनि सक्दैन ।’

‘ग्यारेण्टीका साथ भन्छु शेरबहादुरजीलाई हराउने व्यक्ति म बाहेक अरु छैन’, उनले भने ।
डा.कोइरालाले पार्टीमा मनोमानी गरेको भन्दै देउवाको आलोचना गरेका छन् ।

महाधिवेशन नजिकिँदै गर्दा भोटका लागि विभाग गठन गरेको र विधान विपरित भयो भनेर आफूहरूले विरोध गर्दा नसुनेको भन्दै डा.कोइरालाले महाधिवेशनबाट यसको जवफ दिनुपर्ने बताएका छन् ।

‘उहाँले मनोमानी गर्नुभयो । हाम्रो विरोध पनि सुन्नु भएन’, उनले भने, ‘महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुप¥यो । किनकी अरु विकल्प छैन ।’

Published : Monday, 2020 August 24, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया