पर्वतमा नेकपाभित्र पहिरो, कांग्रेसद्वारा मास्क र स्यानिटाइजरमा कशिमन खाने कम्युनिस्टको भण्डाफोर

कुश्मा । पर्वत जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कटुवाचौपारीमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद अर्जुनप्रसाद जोशीले नेकपाका नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

नेता जोशीले नेकपालाई भोट हालेकोमा पश्चाताप गर्दै कांग्रेस प्रवेश गर्नेको लहरले कांग्रेसप्रति जनताको विश्वास बढेको बताए । नेता जोशीले निर्वाचनपूर्व देखाएका भ्रामक सपना र गरेका उद्यारो बाचाविरुद्ध कार्यकर्तामा वितृष्णा जागेको बताए ।

कम्युनिष्ट पार्टीमा निराश भएर कांग्रेसको प्रतीक्षामा बसेका सबैलाई सम्मानपूर्वक पार्टीमा प्रवेश गराउने अभियान सञ्चालन गर्ने उनले बताए ।

कांग्रेस नेता जोशीले दुईतिहाइको सर्वशक्तिशाली नेकपाको सरकारले जनतालाई लोकतन्त्रको अनुभूति दिनेभन्दा पनि जनताप्रति निर्मम भएर कोरोनाको महामारीमा पनि मास्क र सेनिटाईजरमा कमिशन खान सक्रिय रहेको बताए ।

जोशीले कम्युनिष्टहरूको ज्यादती र संस्थागत अपराधलाई सहन नसकेर २७ वर्षदेखि निरन्तर नेकपामा सक्रिय रहेर काम गरेका व्यक्तिहरूले पार्टी छोड्ने परिस्थिति बन्दै गएको उल्लेख गरेका छन् ।

उनले नेकपा परित्याग गरि कांग्रेस प्रवेश गरेका सबै व्यक्तिलाई स–सम्मान पार्टीमा जिम्मेवारी दिने आश्वासन दिएका छन् ।

‘जुन प्रतिबद्धता र संकल्प बोकेर नेकपा परित्याग गरि तपाईंहरू नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ, तपाईंको क्षमता र क्रियाशीलताका आधारमा पार्टीको जिम्मेवारी पाउनुहुनेछ’, केन्द्रीय सदस्य जोशीले भने ।

केन्द्रीय सदस्य जोशीले मुलुकमा जनताको सर्वोच्चतासहितको विकास र समृद्धि नै नेपाली कांग्रेसको संकल्प भएको बताए । उनले कांग्रेसले अठोट गरेको राष्ट्र निर्माणको अभियानमा एकवद्ध भएर लाग्न सबै जिल्लावासीहरूलाई अपील गरेका छन्।

नेपाली कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले नेपाली कांग्रेसको आस्था र विचारलाई पछ्याएर नेकपा परित्याग गरि विनाशर्त कांग्रेसमा प्रवेश गर्न आएका सबै व्यक्तिहरूलाई स्वागत गरे ।

सभापति भुसालले नवप्रवेशीहरूलाई पनि पूर्ण सम्मानका साथ पार्टीको जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले राजनीतिक भविष्य खोजेर नेपाली कांग्रेसमा प्रवेश गर्ने सबैलाई पश्चाताप हुन नदिने बताए । उनले कांग्रेसको बलियो संगठन निर्माणमा लाग्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कांग्रेसका नेताहरू गंगाधर तिवारी, शिवप्रसाद सुवेदी, डा.चुडामणि शर्मा, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष शिव शर्मा अधिकारी, कुश्मा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कृष्णप्रसाद लामिछाने, नेपाल महिला संघ पर्वतकी कार्यवाहक अध्यक्ष मुना शर्मा लामिछाने, नेपाली कांग्रेस कुश्मा नगर कार्यसमितिका नगर सचिव कमल पौडेल र नवप्रवेशी केशव पौडेललगायतले धारणा राखेका थिए ।

नवप्रवेशीहरूले चुनावअघि रेल, रोजगारी, पानीजहाज चलाउने, घरघरमा पाइपबाट ग्याँस पुर्‍याउने जस्ता सस्ता नारा दिएर सत्तामा पुगेको नेकपाको सरकारले पूर्व प्रतिबद्धता अनुसार काम गर्न नसकेको आरोप लगाए ।

उनीहरूले नेकपाका कार्यकर्तामा चरम निराशा छाएको बताएका छन् ।

नवप्रवेशीहरूले नेकपा कम्युनिष्ट आन्दोलनकै कलंक भएको आरोप लगाए । उनीहरूले वर्तमान सरकारले जनतालाई न्याय दिनुको सट्टा देशमा अपराध र भष्ट्राचारलाई संस्थागत गरेको, आन्तरिक झगडामा अल्मलिएको र सत्तामा स्वेच्छाचारिता बढाएको आरोप लगाए ।

पार्टी प्रवेश गर्नेहरूमा कुश्मा नगरपालिका–९ का नेकपाका डेढ दर्जन स्थानीय नेता तथा कार्यकर्ता रहेका छन् ।

नेकपाका केशव पौडेल, राजेन्द्र निधि पौडेल, रामबहादुर नेपाली, सरोज नेपाली, विष्णु नेपाली, असिम पौडेल, उदय पौडेल, उमेशनिधि पौडेल, उपदेशनिधि पौडेल, जमुना तिवारी पौडेल, अर्जुन बिक, सलिना बिक, दुर्गाकुमारी बिक, देउरूपा बिक, शर्मिला बिक रमेश तिवारी लगायतका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।

Published : Sunday, 2020 August 23, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया