चीन, रसिया र बेलायतको कोरोनाविरुद्धको भ्याक्सिन नेपालमा पनि क्लिनिकल ट्रायल गर्न स्वीकृति

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले चीन, रसिया र युनाइटेड किंगडमको कोभिड–१९ विरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायलमा भाग लिन स्वीकृति दिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा परिषदका सदस्य सचिव डा.प्रदीप ज्ञवालीले कोभिड–१९ विरुद्धको भ्याक्सिनको थर्ड फेजको क्लिनिकल ट्रयमा भाग लिन अनुमति दिएको बताए ।

‘कोभिड–१९ विरुद्धमा विश्वमा क्लिनिकल ट्रायलको अवस्थामा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा अध्ययन अनुसन्धान गर्न स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा परिषदले नेतृत्व लिएको छ’, डा.ज्ञवालीले भने, ‘चीन, रसिया र युनाइटेड किङ्गडमको अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेका भ्याक्सिनहरू नेपालमा पनि थर्ड फेज क्लिनिकल ट्रायल गर्न कम्पनीहरू ईच्छुक भएको तथा यसको प्रक्रिया अगाडि बढाइसकिएको व्यहोरा जानकारी गराइन्छ ।’

चीन, रसिया र युनाइटेड किङ्गडम अक्सफोर्ड ग्रुपले कोभिड–१९ विरुद्धको दुई चरणको परीक्षण सफलताका साथ सम्पन्न गरिसकेका छन् ।

सदस्य सचिव डा.ज्ञवालीले विश्वमा क्लिनिकल्ली ट्रायलमा रहेको रेमिडेसिभिर औषधि अमेरिकन गिलियार्ड कम्पनीको उत्पादनमा युनाइटेड स्टेड फुड एण्ड ड्रगको अनुमतिमा विश्वका विभिन्न राष्ट्रहरूमा उत्पादन अनुमति प्राप्त पाएका कम्पनीहरूमध्येको औषध व्यवस्था विभागबाट स्वीकृति प्राप्त गरि प्राप्त भएका मध्ये नेपाल सरकारले तोकेका कोभिड अस्पतालहरूमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको रिसर्च प्रोटकल, गाइडलाइन, नीति नियम र परिधिभित्र रहि अनुसन्धानबाट तोकिएका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९का बिरामीलाई दिइदै आएको सुविधाभित्र पर्ने गरी अध्ययन अनुसन्धानको लागि प्रयोग गरिने औषधि रहेका जनाएका छन् ।

‘सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, आम बिरामीहरूलाई नेपाल परिषदले यो लगायत रिसर्च अध्ययनमा रहेका औषधिहरू बिरामीको आग्रहमा चिकित्सकले आफू खुसी प्रेस्क्रीप्सन दिएर प्राप्त हुँदैन’, उनले भने ।

‘औषधि पसल तथा कम्पनीहरूले अनुमति प्राप्त नगरिकन औषधि व्यवस्था विभागबाट अनुसन्धानको लागि स्वीकृति बेगर बिक्री वितरण तथा प्रयोग गर्न पाइनेछैन’, डा.ज्ञवालीले भने, ‘आफू खुसी लेख्ने बिरामीले माग्ने र औषधि पसलले कालोबजारी गरि बेचबिखन गर्ने कुरा कानूनतः दण्डनीय कुरा हो ।’

डा.ज्ञवालीले कन्भालेसन प्लाज्मा थेरापी सुरु गरेको जनाए । उनले १५ अस्पतालमा अब्जभेर्सन अध्ययन भइरहेको बताए । ब्लड बैंकको सहयोगमा कन्भालेसन प्लाज्मा थेरापी गरिएको उनले बताएका हुन् ।

Published : Sunday, 2020 August 23, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया