प्रचण्डको भुतपूर्व किल्लामा घन्कियो ‘जय नेपाल’को नारा, कम्युनिस्टभित्र खैलाबैला

रुकुम । तत्कालीन माओवादीको आधार किल्लाका रुपमा परिचित रुकुम पश्चिम जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लोकप्रिय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपाका जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य एवम् जिल्ला नेता अमृत बोहरासहित एक सयभन्दा धेरै नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । बोहरा तत्कालीन माओवादीबाट जिल्ला समन्वय समितिमा निर्वाचित भएका थिए ।

बोहराको नेतृत्वमो १०५ जना नेकपाका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला उपसभापति धिरेन्द्र बटालाले जानकारी दिएका छन् ।

आठबिसकोट नगरपालिका–३ स्यालाखदी घर भएका बोहरा नेकपाका कर्णाली कमिटी सल्लाहकार सदस्य हुन् ।

बोहराले नेकपाको सरकार र कम्युनिस्ट नेताहरू जनताको पक्षमा भन्दा पनि आफ्नो व्यक्तिगत फाइदाका लागेको आरोप लगाए । जनताको पक्षमा काम गर्न कम्युनिस्टहरू उदाशिन भएपछि नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेको बोहराले बताए ।

नेकपा छाडेर कांग्रेस प्रवेश गरेका नेकपाका लोकप्रिय नेता बोहराले कम्युनिस्टभन्दा कांग्रेस एक सय गुणा धेरै राम्रो भएको बताए । उनले भने, ‘कांग्रेसले झुठ बोल्न जानेको छैन । पहिला काम गर्छ, जनताको काम गरेर सस्तो लोकप्रियताका लागि प्रचार गर्दैन ।’

कम्युनिस्टहरूले कामभन्दा धेरै झुठको खेती गर्ने र प्रचार प्रसारलाई बढि ध्यान दिने गरेको बोहराले बताए । उनले कम्युनिस्ट नेताहरू अहिले भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् ।

बोहरासहित आठबिसकोट नगरपालिकाका रामबहादुर रोकाय, शेरबहादुर आरसी, कलु पुरी, प्रेमबहादुर पुरी, डम्बरबहादुर शाह, धनसिंह बोहरालगायत १०५ जनाले कांग्रेसको पार्टी सदस्यता लिएका छन् ।

उनीहरूले कांग्रेसको चारतारे झण्डाभित्र रहेर जिल्लाको विकास गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा नवप्रवेशीहरूलाई ‘जय नेपाल’को नारा लगाउन लगाइएको थियो ।

रुकुम जिल्लामा बसेर पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका तत्कालीन माओवादीका शीर्ष नेताहरूले कथित जनयुद्ध लडेका थिए । कुनै बेला प्रचण्डलाई साथ दिएकाहरूले कम्युनिस्ट पार्टी छाडेर कांग्रेसमा बिलय भएका छन् ।

Published : Sunday, 2020 August 23, 9:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया